एजेन्सी । भारतमा जारी एफआइएच हक्की विश्वकपअन्तर्गत दोस्रो सेमिफाइनल खेलमा नेडरल्याण्ड्सलाई सुटआउटमा पराजित गर्दै बेल्जियम फाइनलमा प्रवेश गरेको छ ।
शुक्रवार भएको दोस्रो सेमिफाइनल खेलमा साविक विजेतासमेत रहेको बेल्जियमले नेडरल्याण्ड्सलाई सुटआउटमा ३–२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
भुवनेश्वरस्थित हक्की रंगशालामा भएको खेलमा निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय सुटआउटबाट भएको थियो । जसमा बेल्जियमले बाजी मार्यो ।
बेल्जियमका लागि वेग्नेज भिक्टर, दि स्लोभेर अर्थुर र भान उबेलले गोल गर्दा डच टोलीका लागि दि जियुस जोनास र क्रोन जोरितले गोल गरे । बेल्जियमका लागि १ तथा डच टोलीका लागि ३ खेलाडीले सुटआउट मिस गरे ।
त्यसअघि निर्धारित ६० मिनेटको खेल २–२ को बराबरीमा सकेको थियो । पहिलो क्वाटरको ११ औं मिनेटमा जनसेनको गोलमार्फत नेडरल्याण्ड्सले खेलमा सुरुवाती अग्रता लिएको थियो ।
त्यसपछि खेलको २६ औं मिनेटमा बेल्जियम बराबरीमा आयो । बेल्जियमका लागि बुन टमले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।
यता, ३५ औं मिनेटमा जिपले गोल गर्दा डच टोली खेलमा २–१ ले अघि बढ्यो । त्यसपछि ४४ औं मिनेटमा बेल्जियमले दि कार्पेल निकोलासको गोलमार्फत खेल २–२ को बराबरीमा ल्यायो ।
अब बेल्जियमले उपाधिका लागि जर्मनीसंग सामना गर्ने तय भएको छ ।