एजेन्सी । भारतमा जारी आईसीसी क्रिकेट विश्वकपअन्तर्गत समूह चरणको ३४ औं खेलमा अफगानिस्तानले नेडरल्याण्ड्समाथि सहज जित हासिल गरेको छ ।
शुक्रवार भएको खेलमा अफगानिस्तानले नेडरल्याण्ड्समाथि ७ विकेटको सहज जित हासिल गरेको हो ।
महत्वपूर्ण जितसंगै अफगानिस्तानले ७ खेलमा ८ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।
यता, पराजित नेडरल्याण्ड्सको पनि समान ७ खेलमा ४ अंकका साथ तालिकाको आठौं स्थानमा रहेको छ ।
भारतको लखनउस्थित एक्काना स्पोट्स रंगशालामा भएको खेलमा १८० रनको सामान्य विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको अफगानिस्तानले ३१.३ ओभरमा ३ विकेट गुमाउँदै १८१ रन जोड्यो ।
अफगानिस्तानका लागि कप्तान हश्मतुल्लाह शाहिदीले ६४ बलमा ६ चौका प्रहार गर्दै ५६ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा रहमत शाहले ५४ बलमा ८ चौका प्रहार गर्दै ५२ रनको अर्धशतकिय पारी खेले ।
त्यस्तै, अजमतुल्लाह ओमारजाईले २८ बलमा ३ चौका प्रहार गर्दै ३१ रन जोड्दै अविजित रहँदा इब्राहिम जादरानले ३४ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै २० रन जोडेर पेविलियन फर्किए ।
यता, रहमानुल्लाह गुरबाज ११ बलमा २ चौका प्रहार गर्दै १० रन बनाएर आउट भए ।
अफगानिस्तानले अतिरिक्त रुपमा १२ रन जोड्यो ।
नेडरल्याण्ड्सका लागि लोगान भान बिक, राइलअफ भान डेर मेर्वे, सकिव जुल्फिकर र कोलिन अकेरमानले समान १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको नेडरल्याण्ड्सले ४६.३ ओभरमा अलआउट हुँदै १७९ रन जोड्यो ।
नेडरलयाण्ड्सका लागि स्याब्रान्ड एन्गलब्रेच्टले ८६ बलमा ६ चौका प्रहार गर्दै ५८ रनको अर्धशतकिय पारी खेल्दा म्याक्स ओडौडले ४० बल खेल्नेक्रममा ९ चौका प्रहार गर्दै ४२ रन जोडेर रनआउट भए ।
त्यस्तै, कोलिन अकरम्यानले ३५ बलमा ४ चौका प्रहार गर्दै २९ रन जोडेर रन आउट हुँदा राइलअफ भान डेर मेर्वेले ३३ बलको सामना गर्दा ११ रन जोड्दै पेविलियन फर्किए ।
यता, आर्यान दत्तले २२ बलमा १० रन जोड्दै अविजित रहँदा पाउल भान मिकिरिन ४, सकिब जुल्फिकर र बास डि लिड समान ३–३, लोगान भान बिक २, वेस्ले बारेसी १ र कप्तान स्कट इवार्डस शुन्य रनमा पेविलियन फर्किए ।
नेडरल्याण्ड्सले अतिरिक्त रुपमा १६ रन जोड्यो ।
डच टोलीलाई सस्तैमा समेत्न अफगानिस्तानका लागि मोहम्मद नाबीले ९.३ ओभर बलिङ गर्दै १ मेडनसहित २८ रन दिएर ३ विकेट लिँदा नुर अहमदले ९ ओभर बलिङ गर्दै ३१ रन दिएर २ विकेट लिए ।
त्यस्तै, मुजिब उर रहमानले १० ओभर बलिङ गर्दै ४० रन खर्चिएर १ विकेट लिए ।