एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी यु–१९ विश्वकपअन्तर्गत समूह चरणको खेलमा श्रीलंकाले नामिबियामाथि सहज जित निकालेको छ ।
बुधवार भएको समूह चरणको १२ औं खेलमा श्रीलंकाले नामिबियामाथि ७७ रनको सहज जित निकालेको हो ।
लो स्कोरवाला खेल जितेसंगै समूह ‘सी’ मा रहेको श्रीलंकाले २ खेलमा ४ अंक जोड्दै समूह तालिकामा शीर्ष स्थान उक्लिएको छ ।
पराजित नामिबियाले भने समूह चरणको दुबै खेलमा हारको नतिजा बेहोर्दै तालिकाको पुच्छारमा रहेको छ ।
नर्डन केपस्थित दि बियर्स डाइमन्ड ओभल रंगशालामा भएको खेलमा १३४ रनको सामान्य विजयी लक्ष्य पद्ध्छाएको नामिबिया २७ ओभरमा अलआउट हुन पुग्दा मात्र ५६ रनमा समेतियो ।
नामिबियाका लागि पिटर ड्यानियल ब्लिगनौटले १५ बलमा ४ चौका प्रहार गर्दै १८ रन जोडेर अविजित रहँदा हान्रो बाडेनहोर्स्टले ३२ बल खेल्नेक्रममा १ चौका प्रहार गर्दै ११ रनमा पेविलियन फर्किए ।
नामिबियाका अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
विकेटकिपर जेडब्लु भिसागी ७, हान्सेइ दि भिलियर्स र जाचेओ भान भुरेन समान ३–३, कप्तान अलेक्जान्डर बुसिङ भोलस्चेङक र हनरी भान वेक समान २–२ र ज्याक ब्रुस्सेल १ रनमा आउट हुँदा अन्य ३ ब्याटर शुन्य रनमा पेविलयन फर्किए ।
नामिबियाले अतिरिक्त रुपमा ९ रन जोड्यो ।
नामिबियामाथि जित हासिल र्गा श्रीलंकाका लागि विश्वा कुमारा र रुबिसन परेराले समान ३–३ विकेट लिँदा दिनुरा कालुपाहानाले २ र गुरुका संकेथले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको श्रीलंकाले ३७.५ ओभरमा अलआउट हुँदै १३३ रन जोड्यो ।
श्रीलंकाका लागि सुपुन वादुगुले ७९ बलमा ६ चौका प्रहार गर्दै ५६ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा रुसान्दा गामगले २७ बल खेल्दै २ चौका प्रहार गरेर १७ रन जोड्दै पेविलियन फर्किए ।
त्यस्तै, कप्तान सिनेथ जयवर्दनाले ३० बल खेल्नेक्रममा १ चौका मद्दतमा १० रन जोडेर पेविलियन फर्किदा माल्शा थारुपाठी ६, पुलिन्दु परेरा र शारुजन शानमुगनथान समान ३–३, रबिशान नेथसारा २ र गुरुका सानकेथ १ रनमा पेविलियन फर्किए ।
श्रीलंकाका ३ ब्याटरले अंकको खाता नै खोल्न सकेन ।
श्रीलंकाले अतिरिक्त रुपमा २५ रन जोड्यो ।
बलियो श्रीलंकालाई अलआउट गर्न नामिबियाका लागि जाचेओ भान भुरेनले सर्वाधिक ४ विकेट लिँदा हान्सेइ दि भिलियर्सले ३ विकेट लिए ।
त्यस्तै, पिटर ड्यानियल ब्लिगनौट र ज्याक ब्रुस्सेलले समान १–१ विकेट लिए ।