भक्तपुर । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले नामिबियामाथि रोमाञ्चक जित हात पारेको छ ।
मंगलवार भएको खेलमा नेपालले नामिवियामाथि २ विकेटको रोमाञ्चक जित हात पारेको हो ।
काठमाडौंस्थित टियू क्रिकेट मैदानमा जितका लागि २८६ रन पछ्याएको नेपालले ४७.४ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । यो नै नेपालले कुनैपनि एकदिवसीय अन्तराष्ट्रिय खेलमा ठूलो रन पछ्याउँदै जितेको पहिलो खेलसमेत बन्यो ।
नेपालको जितमा कप्तान रोहित पौडेल र कुशल भुर्तेलले १३३ रनको क्रीतिमानी साझेदारी गरेका थिए । कुशल भुर्तेलले ११३ बलमा १० चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ११५ रनको शतकिय योगदान दिए ।
रोहित पौडेलले ७६ बल खेल्नेक्रममा ७ चौका र ३ छक्का प्रहार गर्दै ७२ रन जोडेका थिए । रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने नेपालका पहिलो ब्याटर बनेका छन् । विश्वकप लिग २ मा नामिबियाविरुद्धको खेलमा ५५ रन बनाएसँगै उनले यो उपब्लधि हात पारेका हुन् ।
त्यस्तै, ज्ञानेन्द्र मल्लले ३५ बलमा ४ चौका मद्दतमा २५ रन जोडेका थिए । सन्दिप जोराले २४ बल खेल्दा ३ चौका र १ छक्का प्रहार गर्दै २८ रन जोडे । करन केसीले १२ बल खेल्दै १ चौका र २ छक्काको मद्दतमा २० रनमा अविजित रहे ।
घरेलु टोलीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । कुशल मल्ल ६, दिपेन्द्र सिंह ऐरी ७ रनमा आउट हुँदा सोमपाल कामी ४ रनमा पेविलियन फर्किए ।
विकेटकिपर आसिफ शेख र सन्दिप लामिछाने शुन्य रनमा पेविलियन फर्किए । नेपालले १० रन अतिरिक्त रुपमा पाएको थियो ।
नामिवियाका लागि रुविन ट्रक्पेलम्यान र निकोल लोफ्टाइ इटनले समान ३–३ विकेट लिए । त्यस्तै, बेर्नाड स्कोल्ज र तानगेनी लुङ्गामेनीले पनि १–१ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको भ्रमणकारी टोलीले निर्धारित ५० ओभरको खेलमा पूरा १० विकेट गुमाउँदै २८५ रन बनायो ।
नामिबियाका लागि माइकल भान लिनगेनले १३७ बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक १३३ रनको शतकिय पारी खेले । कप्तान जेर्हाद इरास्मसले ७९ बल खेल्दै २ चौका र ३ छक्काको मद्दतमा ५६ रनको अर्धशतकिय रन जोडे ।
त्यस्तै, विकेटकिपर जेन ग्रीनले १९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३४ रन जोड्दा कार्ल बिर्केनस्टोक र जान फ्राइलिंकले समान १३ रन बनाउँदै पेविलियन फर्किए ।
रुविन ट्रक्पेलम्यान ११ रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । लोहान्द्रे लौरेन्स ५, निकोल लोफ्टाइ इटन ८, पिक्की या फ्रान्स २ रनमा आउट हुँदा तानगेनी लुङ्गामेनी १ रनमा नटआउट रहे ।
यता, बेर्नाड स्कोल्ज भने शुन्य रनमा पेविलियन फर्किए । नामिवियाले ९ रन अतिरिक्त रुपमा पाएका थिए ।
नेपालका लागि करन केसीले सर्वाधिक ५ विकेट लिँदा सन्दिप लामिछानेले ३ विकेट लिए । सोमपाल कामी र कुशल मल्लले १–१ विकेट लिए ।
त्रिदेशीय सिरिजअन्तर्गत बुधवार नामिविया र स्कटल्याण्डबीच खेल हुनेछ ।