
एजेन्सी । इटालियन सिरी ए अन्तर्गत खेलमा एएस रोमाले नापोलीमाथि सहज जित हासिल गरेको छ ।
सनिवार राति भएको खेलमा एएस रोमाले ९ खेलाडीमा समेतिएको नापोलीमाथि २–० को सहज जित हासिल गरेको हो ।
रोमाको घरेलु मैदान ओलम्पिको रंगशालामा भएको खेलमा रोमेलु लुकाकु र लोरेन्जो पिल्लेग्रीनीले एक–एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ७६ औं मिनेटमा पिल्लेग्रीनीको गोलमार्फत रोमाले सुरुवाती अग्रता लियो ।
त्यसअघि ६६ औं मिनेटमा म्याटेओ पोलिटानोले रातो कार्ड पाउँदा नापोली १० खेलाडीमा समेतियो ।
यता, ८६ औं मिनेटमा भिक्टर ओसमानले पनि दोहोरो पँहेलो कार्ड खाँदा नापोली ९ खेलाडीमा समेतियो ।
खेलको अन्त्यतिर निर्धारित ९० मिनेटपछि थपिएको अतिरिक्त समयको छैटौं मिनेटमा इभान एनडिकाको पासमा लुकाकुले गोल थप्दा रोमा २–० ले विजयी भयो ।
सहज जितसंगै रोमाले १७ सिरी ए खेलमा २८ अंक जोड्दै लिग तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।
पराजित नापोली भने समान खेलमा २७ अंकका साथ तालिकाको सातौं स्थानमा झरेको छ ।