
एजेन्सी । स्पेनिस महारथी बार्सिलोना युरोपेली क्लब फुटबलको लोकप्रिय प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलवार राति भएको अन्तिम १६ अन्तर्गत दोस्रो लेग खेलमा इटालियन क्लब नापोलीमाथि ३–१ समग्रमा ४–२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
बार्सिलोनाको घरेलु मैदान इस्टाडी ओलम्पिक लुइस कम्पनिज रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन फेर्मिन, जाओ क्यान्सेलो र रोबर्ट लेवान्डोस्कीले गोल गरे ।
भ्रमणकारी टोलीका लागि भने अमिर रहमानीले एक गोल फर्काए ।
खेल सुरु भएको १५ औं मिनेटमा राफिन्हाको पासमा फेर्मिनले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसको दुई मिनेटपछि नै कान्सेलोले गोल थप्दा बार्सिलोना २–० ले अघि बढ्यो ।
तर, ३० औं मिनेटमा माट्टेओ पालिटानोको पासमा रहमानीले भ्रमणकारी टोलीका लागि गोल फर्काउँदा खेल २–१ को अवस्थामा आयो ।
यता, दोस्रो हाफको ८३ औं मिनेटमा सर्जे रोबर्टोको असिस्टमा लेवान्डोस्कीले गोल थप्दा बार्सिलोना ३–१ ले विजयी भयो ।
त्यसअघि अन्तिम १६ को पहिलो लेग खेलमा दुबै टोलीले १–१ को बराबरी खेलेका थिए ।