
एजेन्सी । फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पिएसजी) ले लिग वानअन्तर्गत खेलमा नान्टेसमाथि सहज जित निकालेको छ ।
सनिवार राति भएको खेलमा साविक विजेता समेत रहेको पिएसजीले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी नान्टेसमाथि २–० को सहज जित निकालेको हो ।
नान्टेसको घरेलु मैदान ला बेयाउजोइरे लुइस फोन्टेनेउ रंगशालामा भएको खेलमा पिएसजीको जितमा लुकास हर्नान्डेज र केलियन एम्बाप्पेले गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६० औं मिनेटमा माक्विन्होसको पासमा हर्नान्डेजले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि ७८ औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल थप्दै पिएसजीलाई २–० ले जिताए ।
सहज जितसंगै लिग लिडर पिएसजीले २२ खेलमा ५३ अंक जोडेको छ ।
पराजित टोलीको भने समान २२ खेलमा २२ नै अंकसहित तालिकाको १३ औं स्थानमा झरेको छ ।