
भक्तपुर । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत खेलमा झापा एफसीले धनगढी एफसीमाथि सहज जित हासिल गरेको छ ।
बुधवार साँझ भएको खेलमा झापा एफसीले धनगढी एफसीमाथि २–० को सहज जित हासिल गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमाञ्चक खेलमा झापालाई जिताउन अन्जन बिष्ट र समिराज थोकरले गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५२ औं मिनेटमा छिरिङ लामाको क्रसमा हेडमार्फत कप्तानसमेत रहेको अन्जनले दर्शनिय गोल गर्दै झापालाई १–० ले अघि बढाए ।
त्यसपछि ७५ औं मिनेटमा जर्ज पि. सान्चेजको असिस्टमा समिरराजले गोल गर्दै झापालाई २–० ले अघि बढाए ।
त्यसपछि खेलमा थप गोल ननिस्केपछि झापाले खेल जित्न सफल भयो ।
महत्वपूर्ण जितसंगै झापाले ७ खेलमा १० अंक जोड्दै लिग तालिकाको चौथौं स्थानमा उक्लिएको छ ।
पराजित धनगढीको समान ७ खेलमा १२ अंक रहेको छ ।
प्रतियोगितामा धनगढीको यो पहिलो हार समेत रह्यो ।
धनगढी तालिकाको दोस्रो स्थानमा यथावत छ ।