भक्तपुर । नेपालले दिएलएस पद्दतिमार्फत ९ रनले विजयी हुँदै जिम्बावे हुने ‘विश्वकपको ग्लोबल क्वालिफायर’ मा सिधै छनोट हुन सफल भएको छ ।
विहिवार भएको आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्वको अन्तिम खेलमा नेपाललाई जितका लागि ३६ बलमा ४२ रन चाहिएको अवस्थामा रेफ्रीले सुर्यास्त भएको संकेट गर्दै खेल रोकेपछि दिएलएस पद्धतिमार्फत नेपालले ९ रनले खेल जितेको हो ।
क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालका लागि भिम सार्कीले ७६ बलमा ९ चौका प्रहार गर्दै सर्वाधिक ६७ रनको अर्धशतकिय पारी खेले ।
त्यस्तै, आरिफ शेखले ६२ बलमा २ चौका प्रहार गर्दै ५२ रनको अर्धशतकिय इनिङ्स खेल्दा कुशल भुर्तेल ३५ बलमा ३ चौका र ४ छक्का मद्दतमा ५० रनको अर्धशतक बनाउँदै पेविलियन फर्किए ।
कप्तान रोहित कुमार पौडेल २५ बलमा ३ चौका मद्दतमा १६ रन जोड्दै आउट पेविलियन फर्किदा कुशल मल्ल ५, विकेटकिपर आसिफ शेख शुन्य रनमा आउट भए ।
गुलशन झा ४८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५० रनको अर्धशतक बनाउँदै अविजित रहँदा दिपेन्द्र सिंह ऐरी ११ बलमा १० रन बनाउँदै अविजित रहे । नेपालले अतिरिक्त रुपमा १९ रन जोडेको थियो ।
युएईका लागि जुनाइद सिद्वीक्युले १० ओभर बलिङ गर्दै ५१ रन खर्चिएर सर्वाधिक ३ विकेट लिँदा आयान अफजल खानले ७ ओभरमा ३१ रन खर्चिएर २ विकेट लिए ।
जाहुर खानले ९ ओभर बलिङ गर्ने क्रममा ४५ रन दिएर १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको युएईले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाएर ३१० रन जोडेको थियो ।
युएईका लागि आसिफ खानले ४२ बलमा ४ चौका र ११ छक्का प्रहार गर्दै सर्वाधिक १०१ रनको शतकिय पारी खेल्दै अविजित रहे ।
भ्रित्या अरभिन्दले १३८ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गर्दै ९४ रन जोडे । त्यस्तै, कप्तान मुहम्मद वासिमले ४९ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ६३ रनको अर्धशतकिय पारी खेले ।
रोहन मुस्ताफाले ३२ बलको सामना गर्दै ३ चौका मद्दतमा २० रन जोड्दै पेविलियन फर्किदा सिपी रिजवानले ७, आर्यान लाक्राले ६ तथा आर्यान अफजल खानले ३ रन बनाउँदै आउट भए । युएईले अतिरिक्त रुपमा १६ रन जोडेको थियो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ८ ओभर बलिङ गर्नेक्रममा १९ रन दिँदै २ मेदन राखेर २ विकेट लिए । त्यस्तै, स्पिनर सन्दिप लामिछाने र ललित राजबंशीले १–१ विकेट लिए ।