एजेन्सी । दक्षिण कोरियाले एएफसी एसियन कप छनोटअन्तर्गत खेलमा इराकलाई पराजित गरेको छ ।
मंगलवार भएको तेस्रो चरणको छनोट खेलमा बलियो दक्षिण कोरियाले इराकलाई ३–२ गोलअन्तरले पराजित गरेको हो ।
दक्षिण कोरियाको घरेलु मैदान योनगिन मिरेउ रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा ओ सेहुन, हेअन ग्यु ओ र लि जाय सुङले गोल गरे ।
पराजित टोलीका लागि एमन हुसेन र इब्राहिम बायसले गोल फर्काए ।
पहिलो हाफको ४१ औं मिनेटमा बाय जुन होको पासमा सेहुनले गोल गर्दै घरेलु टोलीले सुरुवाती अग्रता दिलायो ।
तर, दोस्रो हाफको ५० औं मिनेटमा अमजेद अटवनको पासमा हुसेनले इराकका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
यता, ७४ औं मिनेटमा हेअन ग्यु ओले गोल गर्दा कोरिया २–१ ले अघि बढ्यो ।
त्यस्तै, ८३ औं मिनेटमा लि जाय सुङले गोल थप्दा कोरिया ३–१ ले अघि बढ्यो ।
इराकले खेलको इन्जुरी समयको पाँचौं मिनेटमा अली जसिमको पासमा बायसले गोल फर्काएता पनि हार भने तार्न सकेन ।
जितसंगै दक्षिण कोरियाले ४ खेलबाट १० अंक जोडेर समूह ‘बी’ को शीर्ष स्थानमा रहेको छ ।
पराजित इराकको भने समान ४ खेलमा ७ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।