
एजेन्सी । दक्षिण अफ्रिका अफ्रिकी फुटबलको शीर्ष प्रतियोगिता अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलवार राति भएको अन्तिम १६ अन्तर्गत खेलमा मोरोक्कोमाथि २–० को जित निकाल्दै दक्षिण अफ्रिका अफ्रिकी फुटबलको शीर्ष प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
आइभरी कोस्टस्थित स्टेड लौरेन्ट पोकौ रंगशालामा भएको खेलमा दुबै गोल दोस्रो हाफमा सम्भब भयो ।
दोस्रो हाफको ५७ औं मिनेटमा थेम्बा ज्वानेको पासमा इभिडेन्स मोक्गोपाले गोल गर्दै अफ्रिकालाई १–० ले अघि बढाए ।
यता, प्रतिस्पर्धात्मक खेलको ८५ औं मिनेटमा आर्चिफ हाकिमी पेनाल्टीमा चुक्दा मोरोक्को खेलमा फर्किने अवसरबाट चुक्यो ।
निर्धारित ९० मिनेटपछि थपिएको इन्जुरी समयको चौथौं मिनेटमा सोफियान अम्राबाटले रातो कार्ड खाँदा मोरोक्को १० खेलाडीमा समेतियो ।
त्यसको एक मिनेटपछि नै टेबोहो मोकोएनाले गोल थप्दा दक्षिण अफ्रिका २–० ले विजयी भयो ।
त्यस्तै, मंगलवार राती नै अमाडौ गोन काउलीबेली रंगशालामा भएको अर्को खेलमा मालीले बुर्किना फासोलाई २–१ ले हरायो ।
खेल सुरु भएको तेस्रो मिनेटमै बुर्किना फासोका एडमोन्ड टापसोबाको आत्मघाती गोलमा मालीले सुरुवाती अग्रता लियो ।
त्यसपछि दोस्रो हाफको ४७ औं मिनेटमा हमारी ट्रावरेको असिस्टमा लास्सिने सिनायोकोले गोल थप्दा माली २–० ले अघि बढ्यो ।
तर, ५७ औं मिनेटमा बेर्टरान्ड ट्रावरेले बुर्किना फासोको लागि गोल फर्काउँदा खेल २–१ को अवस्थामा आयो ।
त्यसपछि खेलमा थप गोल निस्किएन र खेल मालीले जित्यो ।
महत्वपूर्ण जितसंगै माली प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्दा बुर्किना फासो भने अन्तिम १६ बाटै बाहिरिएको छ ।