एजेन्सी । दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको ३ खेलको टि–२० सिरिजअन्तर्गत दोस्रो खेलमा दक्षिण अफ्रिकाले ६ विकेटको जित हात पारेको छ ।
आइतवार भएको खेलमा घरेलु टोली दक्षिण अफ्रिकाले ६ विकेटको जित हात पारेसंगै सिरिज १–१ को बराबरीमा आएको हो ।
सुपर स्पोर्ट पार्क क्रिकेट मैदानमा भएको खेलमा २५९ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोलीले १८.५ ओभरमा २५९ रन बनाउँदा ६ विकेटको जित निकालेको हो ।
दक्षिण अफ्रिकालाई जित दिलाउन विकेटकिपर क्विन्टन दि ककले ४४ बलमा ९ चौका र ८ छक्का प्रहार गर्दै १०० (शतक) बनाउँएका थिए ।
त्यस्तै, रिजा हेनद्रिक्सले २८ बल खेल्दै ११ चौका र २ छक्का प्रहार गर्दै ६८ रनको अर्धशतकिय पारी खेल्दा कप्तान एदिन मार्करामले २१ बलमा ४ चौका र १ छक्का मद्दतमा ३८ रन जोड्दै अविजित रहे ।
यता, हेनरिच क्लासेनले ७ बल खेल्दै ३ चौका मद्दतमा १६ रन बनाउँदै अविजित रहँदा रिले रोस्सोउ ४ बलमा १ चौका र २ छक्का प्रहार गर्दै १६ रनमा आउट भए ।
डेभिड मिल्नर १० रन जोड्दै पेविलियन फर्किए । घरेलु टोलीले अतिरिक्त रुपमा ११ रन जोड्यो ।
वेस्ट इन्डिजका लागि बप्तान रोभमान पावेल, जसन होल्डर, ओडिन स्मिथ र रायमन रैफरले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा आएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २५८ रन बनाए ।
वेस्ट इन्डिजका लागि जोनसन चार्लिजले ४६ बलमा १० चौका र ११ छक्का प्रहार गर्दै सर्वाधिक ११८ रनको शतकिय पारी खेले ।
त्यस्तै, केइली मायर्सले २७ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५१ रनको अर्धशतकिय इनिङ्स खेल्दा रोमारियो शेफर्डले १८ बलको सामना गर्दै १ चौका र ४ छक्का प्रहार गर्दै अविजित ४१ जोडे ।
कप्तान रोभमान पावेलले १९ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २८ रन जोड्दै पेविलियन फर्किदा ओडिन स्मिथले ११ तथा विकेटकिपर निकोलास पोरनले २ रन बनाए । वेस्ट इन्डिजदे अतिरिक्त रुपमा ११ रन जोड्यो ।
दक्षिण अफ्रिकाका लागि मार्को जनसेनले ३ तथा वायन पार्नेलले २ विकेट लिए ।
सिरिजअन्तर्गत तेस्रो तथा निर्णायक खेल सोमवार हुनेछ ।