एजेन्सी । एसियाली पावर हाउस जापानले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्याण्डमाथि फराकिलो जित निकालेको छ ।
सोमवार भएको मैत्रीपूर्ण खेलमा जापानले थाइल्याण्डमाथि ५–० को फराकिलो जित निकालेको हो ।
जापानस्थित न्यु जापान नेस्नल स्टेडियममा भएको खेलमा आओ तानाका, केइटो नाकामुरा, ताकुमा कावामुरा र ताकुमी मिनामिनोले समान एक–एक गोल गर्दा अर्को एक गोल भने थाइल्याण्डका इलियास डोलाहको आत्मघाती गोलमार्फत् प्राप्त भयो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५० औं मिनेटमा आओ तानाकाको गोलमार्फत जापानले सुरुवाती अग्रता लियो ।
त्यसपछि ७२ औं मिनेटमा केइटो नाकामुराले गोल थप्दा जापान खेलमा २–० ले अघि बढ्यो ।
त्यसको दुई मिनेटपछि नै ७४ औं मिनेटमा इलियास डोलाहले आत्मघाती गोल गर्दा जापान ३–० ले अघि बढ्यो ।
यता, ८२ औं मिनेटमा ताकुमा कावामुराले जापानका लागि गोल थप्दा खेल ४–० ले अघि बढ्यो ।
निर्धारित ९० मिनेटपछि थपिएको इन्जुरी समयको दोस्रो मिनेटमा ताकुमी मिनामिनोले गोल थप्दा जापान ५–० को फराकिलो अन्तरले विजयी भयो ।
एसियाली फुटबलको शीर्ष प्रतियोगिता एएफसी एसियन कपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलिएको हो ।