एजेन्सी । भारतले श्रीलंकाविरुद्वको ३ खेलको टि–२० सिरिज जितेको छ ।
सनिवार टि–२० सिरिजअन्तर्गत अन्तिम तथा निर्णायक खेलमा ९१ रनको फराकिलो जित हात पार्दै भारतले समग्रमा २–१ ले सिरिज जितेको हो ।
यसअघि भारतले पहिलो टि–२० खेल जित्दा दोस्रोमा भने श्रीलंकासंग पराजित भएको थियो ।
भारतको सौरास्त्र क्रिकेट एशोसिएसन रंगशालामा भएको खेलमा भारतले दिएको २२९ रनको विशाल विजयी लक्ष्य पछ्याउने क्रममा श्रीलंका १६.४ ओभरमा १३७ रनमा अलआउट भयो ।
भ्रमणकारी टोलीका लागि कप्तान दासुन शानाका र विकेट किपर कुसल मेन्डिसले समान २३ रन बनाए । शानकाले १७ बलमा २ छक्का प्रहार गर्दै२३ रन जोडेका थिए । यता, मेन्डिसले १५ बलमा २ चौका र२ छक्का मद्दतमा २३ रन बनाएका थिए ।
त्यस्तै, धन्नान्जय दि सिल्भाले १४ बल खेल्दै २ चौका र १ छक्का प्रहार गर्दै २२ रन जोड्दा चारिथ असलान्काले १४ बलमा २ चौका र १ छक्का मद्दतमा १९ रन जोडे ।
यता, पाथुम निस्सान्काले १७ बलमा ३ चौकाको सहयोगमा १५ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेन ।
घरेलु टोली भारतका लागि अर्शदिप सिंहले ३ विकेट लिँदा कप्तान हार्दिक पाण्डेया, उम्रान मलिक र युजबेन्द्र चाहेलले समान २–२ विकेट लिए । अक्षर पटेलले १ विकेट आफ्नो नाममा पारे ।
यसअघि टस जित्दै पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै २२८ रन बनाएको थियो ।
भारतका लागि सुर्यकुमार यादवले अविजित रहँदै ५१ बलमा ७ चौका र ९ छक्का प्रहार गर्दै सर्वाधिक ११२ रन जोडे । २ चौका र ३ छक्काको सहयोगमा डेब्यु खेल खेलिरहेका सुभम गिलले ३६ बलमा ४६ रन जोडे ।
त्यस्तै, राहुल त्रिपाठीले १६ बलमा ५ चौका र २ छक्काको मद्दतमा ३५ रनको योगदान गरे । अक्षर पटेल २१ रनमा अविजित रहँदा दिपक हुडाले र कप्तान हार्दिक पाण्डेयाले ४ रन बनाउँदै आउट हुँदा र इशान किसन १ रनमा आउट भए ।
श्रीलंकाका लागि दिलशान मदुशंकाले २ विकेट लिए । त्यस्तै, कसुन राजिथा, चमिका करुनारत्ने र वानिन्दु हसरंगाले १–१ विकेट लिए ।