एजेन्सी । इरिक ट्याङ ह्याङ इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडको नेतृत्वमा आएयता युनाइटेड फेरिएको छ ।
जित्न बिर्सिएको युनाइटेडले फेरि जित्न सुरु गरेको छ । त्यसैले त अहिले म्यानचेस्टर युनाइटेड राम्रो लयमा रहेको छ ।
सिजनको सुरुवाती समयमा खराब रहे तापनि इरिक ट्याङ ह्याङको नेतृत्वमा टोलीले राम्रो पुनरागमन गर्दै उत्कृष्ट खेल खेलिरहेको छ ।
प्रिमियर लिगको पहिलो दुई खेलमा लगातार पराजय बेर्होदा डच प्रशिक्षक दवावमा पुगेको थियो । तर, बलियो मानिएको लिभरपूलविरुद्व २–१ को रोमाञ्चक जित निकालेयता युनाइटेड पछाडी फर्केको छैन ।
डच प्रशिक्षकको नेतृत्वमा रहेको युनाइटेड हाल १७ खेलमा ३५ अंक जोड्दै लिग तालिकाको चौथौं स्थानमा छ । तेस्रो स्थानमा रहेको न्युक्यासलको १८ खेलमा समान अंक रहेता पनि गोलअन्तरका आधारमा युनाइटेड चौथौंमा छ ।
यद्यपी न्युक्यासलको भन्दा युनाइटेडले एक खेल कम खेलेको छ । लिगमा शीर्ष चारमा रहँने लक्ष्यका साथ युनाइटेड अहिले अघि बढेको छ ।
उसो त इंग्लिस फुटबलको सर्वाधिक सफल क्लब मानिने युनाइटेड सर एलेक्स फर्गुसनको अवकासपछि निरन्तर ओरालो लागिरहेको छ ।
युनाइटेडले कुनैपनि प्रतियोगिताको ट्रफी नजितेको पनि ५ वर्ष भइसकेको छ ।
यस्तोमा इरिक ट्याङ ह्याङले युनाइटेडका लागि जारी सिजन कुनै न कुनै ट्रफी भित्र्याउने प्रयास गर्नेछ ।
इंग्लिस क्लब फुटबलको जारी सिजन सबै खाले प्रतियोगितामा कायम रहने एउटैमात्र क्लब युनाइटेड रहेको छ ।
यस्तोमा रेड डेभिल्सका रुपमा चिनिने युनाइटेडले बुधवार रातिमात्रै कारावाओ कपका रुपमा समेत चिनिने इएफएल कपको अन्तिम चार सुरक्षित गरिसकेको छ ।
यदि आउँने सनिवार हुने प्रिमियर लिग डर्वीमा म्यानचेस्टर सिटीलाई रोक्न सके युनाइटेडले जारी सिजन लामो यात्रा तय गर्ने अनुमान गर्न सकिन्छ । बलियो सिटीलाई रोक्न सके युनाइटेडको लय कायमै रहने देखिन्छ ।
यस्तोमा छिमेकी क्लब सिटीविरुद्वको खेल युनाइटेडका लागि असली परिक्षा हुनेमा कुनै शंका छैन ।
युनाइटेडका कप्तान ह्यारी मग्वायरले इएफएल कपको क्वाटरफाइनल खेलपछि युनाइटेड टिभीलाई दिएको अन्तवार्तामा पनि क्लब र समर्थकहरुले उपाधिको माग गरिरहेको बताएका थिए ।
जारी सिजन उपाधि खडेरी तोड्न टिमले निरन्तर मेहिनेत गरिरहेको उनको भनाइ थियो । ‘युनाइटेड एक एतिहासिक र उत्कृष्ट क्लब हो । युनाइटेड जस्तो ठूलो क्लबको आँखा उपाधिमै रहेको हुन्छ । तर, केहि वर्षयता उपाधि जित्न सकिरहेका छैनौं । यस्तोमा गएको सिजन त बिर्सनलायक थियो ।’
मग्वायरले भनेका छन्,‘हामी जारी सिजन बलियो मानसिकताका साथ एकिकृत छौं, प्रत्यक खेल र प्रतियोगितालाई गम्भिरताका साथ लिएका छौं । हामी निरन्तर प्रगति गर्दैछौं । जारी सिजन उपाधि जित्न हामी तिर्खाएका छौं ।’
यता, आयाक्सका पुर्व प्रशिक्षक समेत रहेका ट्याङ ह्याङ आफ्नो लक्ष्यमा स्पष्ट देखिन्छन् । उनले क्लबमा एउटा सबैलाई समान नियम लागु गरेका छन् ।
क्लबभन्दा माथि कुनैपनि खेलाडी हुने छैनन् । नियमानुसार सबैले जिम्मेवारी निभाउन पर्छ । उनको काइदा नियम र मिहिनेतले सकारात्मक परिणाम निस्किरहेको छ ।
प्रिमियर लिगको सर्वाधिक सफल क्लब युनाइटेड हाल लयमा रहनुका केहि तथ्यहरुलाई नियाल्न सक्छौं ।
१) युनाइटेडका फरवार्ड माकुर्स रासफोर्डले जारी सिजन सबै खाले प्रतियोगितामा १५ गोल गरिसकेका छन् । यो गत सिजनको भन्दा तेब्बर हो । उनले कतार विश्वकप पछिका सबै खेलमा निरन्तर गोल गरिरहेका छन् ।
२) डच प्रशिक्षकले जारी सिजन २७ खेलमा २० जित निकालिसकेको छ । अघिल्लो पुरा सिजनमा युनाइटेडले २० जितमात्रै निकाल्न सकेको थियो । जारी सिजनको आधाआधीमै सो आकंडा भेटाएको छ ।
३) जारी प्रिमियर लिगमा बेन्टफोर्डसंग पराजय बेहोरेयता युनाइटेडले ३५ अंक बटुलेको छ । युनाइटेडभन्दा माथि आर्सनलले मात्रै सो अवधिमा बढी अंक जोडेको छ । सोहि अवधिमा आर्सनलले ३५ अंक जोडेको छ ।
४) जारी सिजनको लिग लिडर आर्सनललाई हालसम्म युनाइटेडले मात्रै हराउन सकेको छ ।
५) युनाइटेडले पछिल्लो ८ खेल लगातार जितेको छ । जसमा उनले २१ गोल गरेको छ ।
६) त्यस्तै, युनाइटेडले घरेलु मैदान ओल्डट्राफेडमा पनि लगातार ८ खेल जितेको छ । जुन सन् २०१७ यताकै राम्रो प्रदर्शन हो ।
यी तथ्यहरुलाई हेर्ने हो भने पनि युनाइटेड हाल लयमा रहेको बुझ्न सकिन्छ । युनाइटेडले लयलाई कायमै गर्न सक्ने हो भने जारी सिजन उत्कृष्ट हुनेमा कुनै शंका छैन ।