
एजेन्सी । इंग्लिस फुटबलको दोस्रो श्रेणीको कोभेन्ट्री सिटीमाथि ट्राइब्रेकरमा जित निकाल्दै म्यानचेस्टर युनाइटेड इंग्लिस प्रतिष्ठित प्रतियोगिता एफए कपको फाइनलमा प्रवेश गरेको छ ।
आईतवार राति भएको सेमिफाइनल खेलमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले तुलनात्मक रुपमा कमजोर च्याम्पियनसिप प्रतिद्वन्दी कोभेन्ट्री सिटीमाथि ट्राइब्रेकरमा ४–२ को जित निकाल्दै एफए कपको फाइनलमा प्रवेश गरेको हो ।
इंग्ल्याण्डको राष्ट्रिय रंगशाला वेम्बली रंगशालामा भएको खेलमा एक समय ३–० को आरामदायी अग्रता लिएको साविक उपविजेता युनाइटेडले अग्रता जोगाउन नसक्दा खेल ३–३ को बराबरीमा आयो ।
त्यसपछि खेल अतिरिक्त समय हुँदै ट्राइब्रेकरसम्म पुग्यो ।
ट्राइब्रेकरमा युनाइटेडका लागि कप्तान ब्रुनो फर्नान्डेज, डियगो ड्यालोट, क्रिस्टियन इरेक्सन र रासमुस होइलुन्डले गोल गर्दा क्यासिमेरोको प्रहार भने खेर गयो ।
यता, च्याम्पियनसिप टोलीका लागि भने हाजी वृत र भिक्टर टोर्पले गोल गर्दा कलुम ओ हारे र बिन शेफको प्रहार गोलमा परिणत हुन सकेन ।
त्यसअघि खेलको २३ औं मिनेटमा ड्यालोटको पासमा स्कट म्याकटोमनीले गोल गर्दै रेड डेभिल्सका रुपमा समेत चिनिने युनाइटेडलाई १–० को अग्रता दिलाए ।
त्यसपछि पहिलो हाफको अन्त्यतिर इन्जुरी समयको पहिलो मिनेटमा फर्नान्डेजको कर्नरमा ह्यारी मग्वायरले गोल गर्दै युनाइटेडलाई २–० ले अघि बढायो ।
यता, दोस्रो हाफको ५८ औं मिनेटमा फर्नान्डेजले गोल थप्दा युनाइटेड ३–० को आरामदायी अवस्थामा पुग्यो ।
तर, ७१ औं मिनेटमा फाबियो टाभारेसको पासमा इलिस सिम्सले सिटीका लागि गोल फर्काउँदा खेल ३–१ को अवस्थामा आयो ।
एक गोल फर्काएपछि अझ आक्रमक बनेको च्याम्पियनसिप क्लबले ७९ औं मिनेटमा सिम्सको पासमा कलुम ओ हारेले गोल गर्दा खेल ३–२ को अवस्थामा आयो ।
त्यसपछि अझ उत्कृष्ट खेल पस्किएको सिटीका लागि हाजीले इन्जुरी समयको पाँचौं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्यायो ।