एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत २६ औं चरणको खेलमा टोटनहम हटस्परले नटिङघम फोरेस्टमाथि सहज जित हात पारेको छ ।
सनिवार भएको खेलमा टोटनहम हटस्परले नटिङघम फोरेस्टमाथि ३–१ को जित हात पारेको हो ।
टोटनहम हटस्पर रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि ह्यारी केनले दुई गोल गर्दा सन ह्युुङ मिनले अर्को गोल थपे ।
यता पराजित भ्रमणकारी टोलीका लागि जोइ वरालले एक गोल फर्काए । खेलको १९ औं मिनेटमा केनले गोल गर्दै स्पर्सका रुपमा समेत चिनिने घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
यसअघि चौथौं मिनेटमा रिर्चालेसनले गोल गरतापनि भिएआरले मान्यता दिएको थिएन ।
त्यसपछि ३५ औं मिनेटमा केनले पेनाल्टीमार्फत व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा टोटनहम २–० ले अघि बढ्यो । दोस्रो हाफको ६२ औं मिनेटमा सनले गोल गर्दा टोटनहम खेलमा ३–० ले अघि बढ्यो ।
यता, ८१ औं मिनेटमा जोइले गोल फर्काउँदै खेल ३–१ को स्थितिमा ल्याए । त्यसपछि खेलको अन्त्यतिर फोरेस्टले पेनाल्टी पाएतापनि एयृ चुक्दा खेल ३–१ ले सक्यो ।
जितसंगै टोटनहम २७ खेलमा ४८ अंक जोड्दै लिग तालिकाको चौथौं स्थानमा रहेको छ । यता, पराजित फोरेस्टको २६ खेलमा २६ नै अंक छ । फोरेस्ट तालिकाको १४ औं स्थानमा रहेको छ ।
यता, किङ्ग पावर रंगशालामा चेल्सीले घरेलु टोली लेस्टर सिटीलाई ३–१ ले हरायो ।
चेल्सीका लागि बेन्जामिन चिलविल, काइ हार्भाटज र मातेओ कोभाकिकले गोल गर्दा घरेलु टोलीका लागि प्याटसन दाकाले एक गोल फर्काए ।
महत्वपूर्ण जित निकालेको चेल्सीले २६ खेलमा ३७ अंक बनाएको छ । चेल्सी तालिकाको १० औं स्थानमा रहेको छ ।
पराजित घरेलु टोली लेस्टरको २६ खेलमा २४ अंक छ । लेस्टर तालिकाको १६ औं स्थानमा झरेको छ ।
प्रिमियर लिगअन्तर्गत अन्य खेलमा लिड्स युनाइटड र ब्राइटनले २–२ को बराबरी खेल्दा एभर्टनले ब्रेन्टफोर्डमाथि १–० को जित निकालेको छ ।