
एजेन्सी । इंग्लिस महारथी म्यानचेस्टर सिटी इएफएल कपबाट बाहिरिएको छ ।
बुधवार राति भएको अन्तिम १६ को खेलमा प्रिमियर लिग प्रतिद्वन्दी टोटनहम हटस्परसंग २–१ ले पराजित हुँदा म्यानचेस्टर सिटी इंग्लिस घरेलु फुटबलको नकआउट प्रतियोगिताबाट बाहिरिएको हो ।
स्पर्सको घरेलु मैदान टोटनहम हटस्पर रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन टिमो वेर्नर र पपे माटर सरले एक–एक गोल गरे ।
पराजित भ्रमणकारी टोली सिटीका लागि म्याथ्युस नुनेजले एक गोल फर्काए ।
खेलको सबै गोल पहिलो हाफमा सम्भव भयो ।
खेल सुरु भएको पाँचौं मिनेटमा डिजेन कुलुसेक्भस्कीको पासमा वेर्नरले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलायो ।
त्यसपछि २५ औं मिनेटमा कुलुसेक्भस्कीकै पासमा सरले गोल थप्दा स्पर्स २–० ले अघि बढ्यो ।
यता, पहिलो हाफको इन्जुरी समयको चौथौं मिनेटमा साभिन्होको पासमा नुनेजले सिटीका लागि गोल फर्काउँदा खेल २–१ को स्थितिमा आयो ।
तर, दोस्रो हाफमा थप गोल निस्किएन र खेल टोटनहमले जित्यो ।
जितसंगै टोटनहम प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।