
भक्तपुर । काठमाडौंमा जारी टि–२० अन्तर्राष्ट्रिय त्रिदेशिय सिरिजअन्तर्गत खेलमा नेडरल्याण्ड्सलाई अलआउट गर्दै नेपालले १२० रनमा रोकेको छ ।
क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा पहिलो इनिङ्सको खेल सकिँदा नेपालले नेडरल्याण्ड्सलाई १९.३ ओभरमा अलआउट गर्दै मात्र १२० रनमा रोकेको हो ।
अब नेपालले जितका लागि निर्धारित २० ओभरको खेलमा १२१ रन बनाउनु पर्नेछ ।
टस जितेर पहिला ब्याटिङमा उत्रिएको भ्रमणकारी टोली नेडरल्याण्ड्सका लागि ओपनर ब्याट्सम्यान ओडोडले २४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३१ रन जोड्ल्दै पेविलियन फर्किदा टिम भान देर गगटेनले २६ बल खेल्नेक्रममा २ चौका प्रहार गरेर २४ रन जोड्दै पेविलियन फर्किए ।
त्यस्तै, कप्तान तथा विकेटकिपर स्कट इडवार्ड्सले २१ बलमा १ छक्का प्रहार गर्दै १८ रन जोड्दै आउट हुँदा रोयल्फ भान देर मेर्वेले १४ बल खेल्नेक्रममा १ चौका र १ छक्का प्रहार गर्दै २३ रन जोड्दै अविजित रहे ।
यता, तेजा निदामनुरु ५, अर्का ओपनर माइकल लेभिट र भिभियान किंगमाले समान ४–४, न्वाह क्रुस ३ रनमा आउट हुँदा स्याब्रान्ड इंगलब्रेच्ट, आर्यान दत्त र केयल क्लिन शुन्य रनमा पेविलियन फर्किए ।
डच टोलीले अतिरिक्त रुपमा ८ रन जोड्यो ।
बलियो डच टोलीलाई अलआउट गर्न नेपालका लागि प्रतिश जिसीले ४ ओभर बलिङ गर्नेक्रममा १ मेडन राख्दै १३ रन दिएर ३ विकेट लिँदा करण केसीले ३ ओभर बलिङ गर्दै १८ रन दिएर २ विकेट लिए ।
त्यस्तै, कुशल मल्लले ४ ओभर बलिङ गर्दै १८ रन दिएर २ विकेट लिँदा दिपेन्द्र सिंह ऐरीले २.३ ओभर बलिङ गर्दा १५ रन दिएर १ विकेट लिए ।
नेपालले अतिरिक्त २ विकेट रनआउटमार्फत् प्राप्त गर्यो ।