
एजेन्सी । नेपालले टि–२० अन्तर्राष्ट्रिय त्रिदेशिय सिरिजअन्तर्गत खेलमा नामिबियामाथि रोमाञ्चक जित निकालेको छ ।
शुक्रवार भएको खेलमा नेपालले नामिबियामाथि रोमाञ्चक ३ रनको जित निकालेको हो ।
योसंगै काठमाडौंमा जारी सिरिजमा नेपालले तेस्रो खेलमा आएर पहिलो जित निकाल्न सफल भयो ।
यसअघिका दुई खेलमा नेपाल पराजित रहेको थियो ।
महत्वपूर्ण जितसंगै नेपालले सिरिजको अंक तालिकामा महत्वूिर्ण २ अंक जोड्न सफल भयो ।
समान ३ खेल खेलेको नामिबियाको पनि २ अंक नै रहेको छ ।
क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा १८१ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १७७ रन मात्र बनाउन सक्यो ।
नामिबियाका लागि कप्तान जेजे स्मिथले २६ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५० रनको अर्धशतकिय पारी खेल्दा जान फ्राइलिंकले २९ बल खेल्नेक्रममा १ चौका र २ छक्का प्रहार गर्दै ३७ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, जिन पिइरे कोट्जेले २२ बलमा ४ चौका प्रहार गर्दै २५ रन जोडेर आउट हुँदा जेन ग्रिनले १३ बलमा ४ चौका प्रहार गर्दै १४ रन जोडेर अविजित रहे ।
यता, रुवेन ट्रम्पेल्म्यानले १२ बलमा १ छक्का प्रहार गर्दै १४ रन जोडेर आउट हुँदा माइकल भान लिंगेनले १२ बल खेल्दै १ चौका प्रहार गर्दै १० रन जोडेर पेविलियन फर्किए ।
मलान क्रुगेर ३ रनमा आउट हुँदा निकाले लोफ्टी इटन शुन्य रनमा पेविलियन फर्किए ।
बेरनार्ड स्कोल्ट्ज ४ रनमा अविजित रहे ।
नामिबियाले अतिरिक्त रुपमा ११ रन जोड्यो ।
नेपाललाई रोमाञ्चक जित दिलाउन सोमपाल कामीले ४ ओभर बलिङ गर्दै ३४ रन दिएर २ विकेट लिँदा करण केसीले ४ ओभर बलिङ गर्नेक्रममा ४९ रन खर्चिएर २ विकेट लिए ।
त्यस्तै, दिपेन्द्र सिंह ऐरीले ४ ओभर बलिङ गर्दा २९ रन दिएर २ विकेट लिँदा अविनाश बोहराले ४ ओभर बलिङ गर्दै ३२ रन खर्चिएर १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १८० रन जोड्यो ।
नेपालका लागि कुशल मल्लले ३७ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ५५ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा आरिफ शेखले २४ बल खेल्दै ४ चौका प्रहार गरेर ३१ रन जोड्दै पेविलियन फर्किए ।
त्यस्तै, गुलशन झाले १६ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २६ रन जोडेर पेविलियन फर्किदा अनिल कुमार झाले १७ बलमा ३ छक्का प्रहार गर्दै २३ रन जोडेर आउट भए ।
यता, दिपेन्द्र सिंह ऐरीले ८ बलमा २ चौका प्रहार गर्दै १६ रन जोडेर आउट हुँदा कप्तान रोहित पौडेलले ९ बलमा २ चौका प्रहार गर्दै १० रन जोडेर पेविलियन फर्किए ।
करण केसी ७, सोमपाल कामी २, विकेटकिपर आसिफ शेख १ रनमा पेविलियन फर्किदा प्रतिश जिसी १ रनमा अविजित रहे ।
नेपालले अतिरिक्त रुपमा ८ रन जोड्यो ।
नामिबियाका लागि बेन शिकोङगोले ४ ओभर बलिङ गर्नेक्रममा २८ रन दिएर ३ विकेट लिँदा ज्याक ब्रुस्सेलले ४ ओभर बलिङ गर्दै ४५ रन खर्चिएर २ विकेट लिए ।
त्यस्तै, रुवेन ट्रम्पेल्म्यान, निकोल लोफ्टी इटन र बेरनार्ड स्कोल्ट्जले समान १–१ विकेट लिए ।
सिरिजअन्तर्गत सनिवार नेपालले नेडरल्याण्ड्ससंग खेल्नेछ ।