एजेन्सी । टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत पहिलो खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकामाथि जित निकालेको छ ।
सनिवार विहान भएको खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकामाथि ७ विकेटको जित निकालेको हो ।
जितसंगै वेस्ट इन्डिजले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।
वेस्ट इन्डिजको घरेलु मैदान ब्रायन लारा क्रिकेट रंगशालामा भएको खेलमा १७५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोलीले १७.५ ओभरमा ३ विकेट गुमाउँदै १७६ रन जोड्यो ।
वेस्ट इन्डिजको जितमा विकेटकिपर निकोलास पुरनले २६ बलमा २ चौका र ७ छक्का प्रहार गर्दै ६५ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँँदा ओपनर ब्याट्सम्यान शाई होपले ३६ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरेर ५१ रनको अर्धशतकिय पारी खेल्दै पेविलियन फर्किए ।
त्यस्तै, अर्का ओपनर अलिक अथान्जेले ३० बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ४० रन जोडेर आउट हुँदा कप्तान रोभमान पावेल ७ रन जोडेर पेविलियन फर्किए ।
यता, रोस्टन चेस भने ४ रनमा अविजित रहे ।
वेस्ट इन्डिजले अतिरिक्त रुपमा ९ रन जोड्यो ।
दक्षिण अफ्रिकाका लागि ओटनियल बार्टमानले ४ ओभर बलिङ गर्दै ३० रन खर्चिएर २ विकेट लिँदा क्वेना माफकाले ३.५ ओभर बलिङ गर्दै २५ रन दिएर १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको भ्रमणकारी टोली दक्षिण अफ्रिकाले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १७४ रन जोड्यो ।
दक्षिण अफ्रिकाका लागि ट्रिस्टन स्टुब्सले ४२ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ७६ रनको अर्धशतियक पारी खेल्दा प्याट्रिक क्रुगेरले ३२ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गर्दै ४४ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, कप्तान ऐडिन मार्करामले १० बलमा २ चौका र १ छक्का प्रहार गर्दै १४ रन जोडेर पेविलियन फर्किदा बिजोर्न फोर्टुनले ८ बल खेल्दै २ चौका प्रहार गरेर ११ रन जोडेर अविजित रहे ।
यता, डोनोभान फेरैरा ८, रास्सेइ भान डेर दुस्सान ५, ओपनर ब्याट्सम्यानद्वय रियान रिकेल्टन र रिजा हेनरिक्स समान ४–४ रनमा पेविलियन फर्किदा क्वेना माफकाले ४ रन जोडेर अविजित रहे ।
दक्षिण अफ्रिकाले अतिरिक्त रुपमा ७ रन जोड्यो ।
वेस्ट इन्डिजका लागि म्याथ्यु फोर्डेले ४ ओभर बलिङ गर्दै २७ रन दिएर ३ विकेट लिँदा शामर जोसेफले ४ ओभर बलिङ गर्नेक्रममा ४० रन खर्चिएर २ विकेट लिए ।
त्यस्तै, अकिल हुसेन र रोमारियो शेफर्डले समान १–१ विकेट लिए ।