भक्तपुर । नेपाल टि–२० सिरिजमा क्यानडासंग पराजित भएको छ ।
मंगलवार राति भएको खेलमा नेपाल घरेलु टोली क्यानडासंग ४ विकेटले पराजित भएको हो ।
पराजयसंगै नेपालले त्रिकोणात्मक सिरिजमा ३ खेलबाट १ मा जित र २ मा हारको नतिजासहित तालिकामा २ अंक जोडेको छ ।
क्यानडाको मापेल लिफ क्रिकेट ग्राउण्डमा भएको खेलमा १४० रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको घरेलु टोलीले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
क्यानडालाई जिताउन साद बिन जफरले १८ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३३ रन जोडेर अविजित रहँदा कप्तान निकोलास क्रिटनले १४ बल खेल्दै १ चौका र २ छक्का प्रहार गर्दै २६ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, ओपनर ब्याट्सम्यान दिलप्रित बाज्वाले २९ बलमा २ चौका प्रहार गर्दै २५ रन जोडेर रनआउट हुँदा रविन्दरपाल सिंहले २१ बल खेल्नेक्रममा १ चौका र १ छक्का प्रहार गर्दै २० रन जोडेर अविजित रहे ।
यता, अर्का ओपनर नभनित धलिवाल १२, हर्ष थाकेर ११, विकेटकिपर श्रेयस मोभ्भा ८ र डिलन हेलिगर शुन्य रनमा पेविलियन फर्किए ।
घरेलु टोलीले अतिरिक्त रुपमा ५ रन जोड्यो ।
नेपालका लागि सन्दिप लामिछानेले २ विकेट लिँदा सोमपाल कामीले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १३९ रन जोड्यो ।
नेपालका लागि ओपनर ब्याट्सम्यान अनिल साहले ३० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४१ रन जोड्दा अर्का ओपनर तथा विकेटकिपर आसिफ शेखले ३० बल खेल्नेक्रममा ३ चौका र १ छक्का प्रहार गर्दै ३० रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, गुलशन झाले १६ बलमा २ छक्का प्रहार गर्दै २३ रन जोडेर अविजित रहँदा कुशल भुर्तेल १३, दिपेन्द्र सिंह ऐरी १२, कप्तान रोहित पौडेल र कुशल मल्ल समान ४–४ रनमा पेविलियन फर्किए ।
यता, करण केसी भने ८ रनमा अविजित रहे ।
नेपालले अतिरिक्त रुपमा ४ रन जोड्यो ।
क्यानडाका लागि हर्ष थाकेरले २ विकेट लिँदा डिलन हेलिगर, अखिल कुमार, परबिन कुमार र साद बिन जफरले १–१ विकेट लिए ।