भक्तपुर । क्यानडा भ्रमणमा रहेको नेपालले टि–२० सिरिजको पहिलो खेलमा पनि पराजय बेहोरेको छ ।
सनिवार राति भएको खेलमा घरेलु टोली क्यानडासंग १४ रनले पराजित भएको हो ।
खराब ब्याटिङले निरन्तरता पाउँदा नेपालको हारको श्रीङ्खला जारी रह्यो ।
त्यसअघि लिग २ अन्तर्गत ४ खेलमध्ये ३ खेल नेपाल पराजित हुँदा अर्को एक खेल भने वर्षाले प्रभावित हुँदै हुन सकेको थिए ।
मापेल लिफ क्रिकेट मैदानमा भएको खेलमा१२४ रनको सामान्य विजयी लक्ष्य समेत नेपालले पूरा गर्न सकेन ।
नेपालले १९ ओभरमा अलआउट हुँदै मात्र १०९ रन जोड्न सक्यो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ३९ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३७ रन जोड्दा अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन देखाउन सकेन ।
कुशल मल्ल १२, देव खनाल ११, सन्दिप लामिछाने १०, अनिल साह ९, विकेटकिपर आसिफ शेख ८, कुशल भुर्तेल ७, दिपेन्द्र सिंह ऐरी ६, करण केसी ५ र सोमपाल कामी १ रनमा आउट हुँदा रिजन ढकाल भने १ रनमा अविजित रहे ।
नेपालले अतिरिक्त रुपमा २ रन जोड्यो ।
नेपाललाई पराजित गर्न क्यानडाका लागि कलिम सानाले ४ विकेट लिँदा साद बिन जफरले ३ तथा प्रविन कुमार र अखिल कुमारले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १२३ रन जोड्यो ।
क्यानडाका लागि साद बिन जफरले २३, श्रेयस मोभ्भाले २२, प्रविन कुमारले १९, दिलप्रित बाज्वाले १४, नभनित धलिवालले १३, आरोन जोनसनले ९, कप्तान निकोलास क्रिटनले ५ र हर्ष थाकेरले १ रन जोड्दै पेविलियन फर्किदा अखिल कुमारले १४ रन जोडेर अविजित रहे ।
क्यानडाले अतिरिक्त रुपमा ३ रन जोड्यो ।
नेपालका लागि सन्दिप लामिछाने र सोमपाल कामीले समान ३–३ विकेट लिँदा रिजन ढकाल र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।