
भक्तपुर । आईसीसी टि–२० विश्वकपको तयारीका लागि नेपाल सरकारले ५ करोड रुपैया निकासा गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले विश्वकपको तयारीका लागि सरकारले ५ करोड निकासा गरेको जानकारी दिनु भएको हो ।
त्यस्तै, नेपाल क्रिकेट संघ (क्यान) ले पनि संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने आउँदो टि–२० विश्वकप २०२४ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीको सहभागिताको तयारीका लागि नेपाल सरकारबाट तयारी बजेट विनियोजन गरेकोमा सरकार र राखेपलाई आभार व्यक्ति गरेको छ ।
‘संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आउँदो टि–२० विश्वकप २०२४ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीको सहभागिताको तयारीका लागि नेपाल सरकारबाट अक्षरुपि रुपैंया पाँच करोड तयारी बजेट विनियोजन भएको छ।
यस ऐतिहासिक कदमका लागि नेपाल सरकार सम्माननीय प्रधानमन्त्री क.प्रचण्ड र राखेप सदस्य सचिव टंकलाल घिसिङ ज्यू प्रति नेपाल क्रिकेट संघ हार्दिक आभार ब्यक्त गर्दछ।
नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषदको यस साथ र सहयोगले समग्र नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपुर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दछौं।’
क्यानले सामाजिक सञ्जाल फेसबुक पेजमा लेखेको छ ।
कुल २० टोलीको सहभागिता रहने ९ औं संस्करणको टि–२० विश्वकप आगामी जुन १ देखि २९ तारिखसम्म हुनेछ ।