एजेन्सी । घरेलु टोली दक्षिण अफ्रिकालाई १९ रनले पराजित गर्दै अष्ट्रेलियाले दक्षिण अफ्रिकामा जारी आईसीसी महिला टि–२० विश्वकप जितेको छ ।

आइतवार भएको फाइनल खेलमा १५७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३७ रनमा समेतिएसंगै अष्ट्रेलिया सन् २०२३ को महिला टि–२० विश्वकपको च्याम्पियन बनेको हो ।

न्युल्याण्ड क्रिकेट ग्राउण्डमा भएको फाइनल खेलमा घरेलु टोलीका लागि लोरा ओलभार्तले ४८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ६१ रनको अर्धशतकिय पारी खेलिन् । क्लोइ ट्रायनले २३ बलमा २ चौका र १ छक्का मद्दतमा २५ रन जोडिन् ।

त्यस्तै, ताज्मिन ब्रिट्सले १७ बलमा १ चौका प्रहार गर्दै १० रन बनाउँदै आउट हुँदा मारिजन कापले ११ बलमा २ चौका प्रहार गर्दै ११ रन जोड्दै पेविलियन फर्किन् ।

घरेलु टोलीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान सुन लुस २ तथा एनेके बोस १ रनमा आउट भईन् ।

यता, विकेटकिपर सिनालो जाफ्टा ९ तथा नदिन दि क्लर्क ८ रनमा अविजित रहिन् ।

दक्षिण अफ्रिकाले १० रन अतिरिक्त रुपमा जोडेको थियो । अष्ट्रेलियाका लागि मेगन सट, एस्ली गार्डनर, दार्सी ब्राउन र जेस जोनसनले समान १–१ विकेट लिईन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि बेथ मोनीले ५३ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ७४ रन बनाउँदै अविजित रहिन् ।

त्यस्तै, एस्ली गार्डनरले २१ बलको सामना गर्दा २ चौका र २ छक्काको मद्दतमा २९ रन बनाउँदा विकेटकिपर एस्ले हिलेले २० बलमा ३ चौका प्रहार गर्दै १८ रन जोडिन् ।

कप्तान मेग लानेङ ११ बलमा १ चौका मद्दतमा १० रनमा पेविलियन फर्किदा ग्रेस ह्यारिस ९ बलमा १ चौका प्रहार गर्दै १० रनमा आउट भईन् ।

एल्सा पेरी ७ रनमा आउट हुँदा जोर्जिया वारेहम शुन्य रनमा पेविलियन फर्किइन् । ताह्लिया म्याकग्राथ १ रनमा अविजित रहिन् ।

अष्ट्रेलियाले अतिरिक्त रुपमा ७ रन जोड्यो । दक्षिण अफ्रिकाका लागि शबनम इस्माइल र मारिजान कापले समान २–२ विकेट हात पार्दा ननकुलुलेको मलाबा र चोलेइ ट्रायनले १–१ विकेट लिईन् ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.