एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी महिला टि–२० विश्वकपमा भारतले लगातार दोस्रो जित निकालेको छ ।
बुधवार राति भएको खेलमा वेस्ट इन्डिजमाथि ६ विकेटको जित हात पार्दै भारतले जारी विश्वकपमा लगातार दोस्रो जित निकालेको हो ।
यसअघि भारतले पाकिस्तानलाई हराएको थियो । न्युल्याण्ड क्रिकेट मैदानमा भएको खेलमा ११९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा भारतले १८.१ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
भारतका लागि विकेटकिपर रिचा घोषले अविजित रहँदै ३२ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ४४ रनको योगदान दिइन् ।
त्यस्तै, कप्तान हर्मनप्रित कौरले ४२ बलमा ३ चौका प्रहार गर्दै ३३ रन बनाइन् । शफाली बर्माले २३ बलमा ५ चौका प्रहार गर्दै २८ रन जोड्दा स्मिृति मन्धना १० रनमा आउट भइन् ।
भारतका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । भारतले अतिरिक्त रुपमा ३ रन पायो ।
वेस्ट इन्डिजका लागि करिश्मा रामहराकले २ विकेट लिँदा कप्तान हेली म्याथ्युज र सिनेल हेनरीले १–१ विकेट हात पारिन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै ११८ रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि स्टेफानी टेलरले ४० बलमा ६ चौका प्रहार गर्दै सर्वाधिक ४२ रन जोडिन् । सिमेन क्याम्बलले ३६ बल खेल्दा ३ चौका प्रहार गर्दै ३० रनको योगदान दिइन् ।
त्यस्तै, कप्तान चेडिन नेसनले अविजित रहँदै १८ बलमा १ चौका मद्दतमा २१ रन जोड्दा शबिका गजनबीले १३ बलमा २ चौका प्रहार गर्दै १५ रन जोडेर आउट भइन् ।
वेस्ट इन्डिजका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । वेस्ट इन्डिजले अतिरिक्त रुपमा ४ रन जोडेको थियो ।
भारतका लागि दिप्ती शर्माले सर्वाधिक ३ विकेट हात पारिन् । त्यस्तै, रेनुका सिंह र पुजा भस्ट्राकरले १–१ विकेट लिइन् ।
भारत समूह ‘बी’ मा ४ अंक जोड्दै दोस्रो स्थानमा रहँदा जित विहिन वेस्ट इन्डिज शुन्य अंकमा चौथौ स्थानमा छ ।