एजेन्सी । अष्ट्रेलियाले आईसीसी महिला टि–२० विश्वकपमा विजयी सुरुवात गरेको छ ।
सनिवार भएको खेलमा साविक विजेता अष्ट्रेलियाले श्रीलंकामाथि ६ विकेटको जित निकाल्दै टि–२० विश्वकपमा विजयी सुरुवात गरेको हो ।
सहज जितसंगै अष्ट्रेलियाले समूह ‘ए’ मा २ अंक जोडेको छ ।
श्रीलंकाले भने प्रतियोगितामा लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।
युएईको सारजाहस्थित सारजाह क्रिकेट रंगशालामा भएको खेलमा ९४ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको बलियो अष्ट्रेलियाले १४.२ ओभरमा ४ विकेट ष्ुमाउँदै पूरा गर्यो ।
अष्ट्रेलियाको जितमा ओपनर ब्याटर बेथ मोनीले ३८ बलमा ४ चौका प्रहार गर्दै ४३ रन जोडेर अविजित रहँदा एल्सा पेरीले १५ बल खेल्नेक्रममा ३ चौका प्रहार गर्दै १७ रन जोडेर पेविलियन फर्किन् ।
त्यस्तै, अश्लेग गार्डनेरले १५ बलमा १ चौका प्रहार गर्दै १२ रन जोडेर आउट हुँदा फोएब लिट्चफिल्ड ९ रनमा अविजित रहिन् ।
यता, कप्तान तथा विकेटकिपर एस्सा हेली ४ र जर्जिया वेरेह्याम ३ रनमा पेविलियन फर्किन् ।
अष्ट्रेलियाले अतिरिक्त रुपमा ६ रन जोड्यो ।
श्रीलंकाका लागि उदेशिका प्रबोधानी, इनोका रानावेरा र सुगान्धिका कुमारीले १–१ विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै ९३ रन जोड्यो ।
श्रीलंकाका लागि निलाक्षी दि सिल्भाले ४० बलमा २९ रन जोड्दै अविजित रहँदा हरशिथा समराविक्रमाले ३५ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै २३ रन जोड्दै पेविलियन फर्किन् ।
त्यस्तै, विकेटकिपर अनुश्का सञ्जिवनीले १५ बलमा २ चौका प्रहार गर्दै १६ रन जोडेर आउट हुँदा काभिशा दिलहारी ५, कप्तान चमारी अथापाथ्थु ३, हासिनी पेरेरा २ रनमा पेविलियन फर्किन् ।
यता, इनोशी प्रियादर्शनी २ रनमा अविजित रहँदा सुगान्धिका कुमारी र भिश्मी गुनारत्ने शुन्य रनमा पेविलियन फर्किन् ।
श्रीलंकाले अतिरिक्त रुपमा १३ रन जोड्यो ।
अष्ट्रेलियाका लागि मेगन स्चुटले ३ विकेट लिँदा सोफी मोलिनेउसले २ तथा अश्लेग गार्डनेर र जर्जिया वेरेह्यामले १–१ विकेट लिइन् ।