भक्तपुर । नेपालले आईसीसी महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत खेलमा विजयी सुरुवात गरेको छ ।
बुधवार भएको खेलमा नेपालले थाइल्याण्डमाथि ६७ रनको जित निकाल्दै छनोटमा विजयी सुरुवात गरेको हो ।
जितसंगै नेपालले तालिकामा महत्वपूर्ण २ अंक जोड्न सफल भयो ।
युएईको दुबईस्थित द स्टिभन्स स्टेडियममा भएको खेलमा नेपालले प्रस्तुत गरेको १०३ रनको विजयी पछ्याएको थाईल्यान्ड ११.४ ओभरमा अलआउट हुनेक्रममा मात्र ३५ रनमा समेतियो ।
थाईल्यान्डका लागि कप्तान अफिसाराले १३ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि रचना चौधरीले ४, कप्तान पुजा र रिया शर्माले समान २ तथा मनिशा उपाध्याय र कृष्मा गुरुङले समान १ विकेट लिए ।
यता, टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले भने निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १०२ रन जोड्यो ।
नेपालका लागि कप्तान पुजा महतोले ४० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३५ रन जोड्दा सोनी पाख्रिनले १९ तथा सिमाना केसीले अविजित रहँदै १९ रन जोडिन् ।
कात्तिक २९ गते सम्म चल्ने एसियाली छनोटमा नेपालसहित घरेलु टोली युएई, कुवेत र थाइल्याण्डको सहभागिता रहेको छ ।
४ टोली सहभागी रहेका छनोटमा तालिकाको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।
नेपालले छनोटअन्तर्गत दोस्रो खेल विहिवार कुवेतसंग खेल्नेछ ।