
भक्तपुर । इंग्लिस फुटबलको लोकप्रिय नकआउट प्रतियोगिता एफए कपको तेस्रो चरणका खेलमा प्रिमियर लिग क्लब टोटनहम हटस्परले तेस्रो श्रेणीको पोर्टस्माउथमाथि कठिन जित निकालेको छ ।
सनिवार राति भएको खेलमा स्पर्सका रुपमा समेत चिनिने टोटनहमले लिग वान क्लबमाथि १–० को कठिन जित निकालेको हो ।
स्पर्सको घरेलु मैदान टोटनहम हटस्पर रंगशालामा भएको खेलमा कमजोर मानिएको प्रतिद्वन्दी माथि एकमात्र निर्णायक गोल ह्यारी केनले ५० औं मिनेटमा गरेका थिए । केनलाई रायन सेसेइगनले पास उपलब्ध गरेका थिए ।
महत्वपूर्ण जितसंगै स्पर्स प्रतियोगिताको चौथौं चरण प्रवेश गरेको छ ।
त्यस्तै, एफए कपअन्तर्गत तेस्रो चरणका अन्य खेलहरुमा प्रिमियर लिग क्लब लेस्टरसिटीले लिग २ क्लब गिलिङ्घममाथि १–० को जित हात पार्दा द च्याम्पियनसिप क्लबद्वयको भिडन्तमा रिडिङले वाटफोर्डमाथि २–० को जित निकाल्यो ।
त्यस्तै, प्रिमियर लिग क्लबहरु क्रिस्टल प्यालेस र साउथह्याम्टनबीचको खेलमा घरेलु टोली प्यालेसमाथि साउथह्याम्टनले २–१ को जित हात पार्यो ।
यता, द च्याम्पियनसिप क्लबहरुको भिडन्तमा प्रिस्टनले हडर्सफिल्डमाथि ३–१ को जित हात पार्यो ।
जित प्राप्त गर्ने सबै टोली एफए कपको अघिल्लो चरण प्रवेश गर्दा पराजित टोलीहरु प्रतियोगिताबाट बाहिरिएका छन् ।