
एजेन्सी । टर्कीएमाथि पुनरागमन जित निकाल्दै नेडरल्याण्ड्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सनिवार राति भएको क्वाटरफाइनल खेलमा टर्कीएमाथि २–१ को पुनरागमन जित निकाल्दै नेडरल्याण्ड्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
जर्मनीको बर्लिनस्थित ओलम्पियास्टाडिअन बर्लिन रंगशालामा भएको खेलमा डच टोलीको पुनरागमन जितमा स्टेफान डि भ्रिजले एक गोल गर्दा अर्को गोल विपक्षी टोलीका मेर्ट मुलदुरमार्फत् आत्मघाती उपहार प्राप्त भयो ।
टर्कीएका लागि भने समेत अकाएदिनले एक गोल गरे ।
पहिलो हाफको ३५ औं मिनेटमा अर्दा गुलेरको पासमा अकाएदिनको गोलमार्फत् टर्कीएले सनसनी १–० को अग्रता लियो ।
तर, दोस्रो हाफको ७० औं मिनेटमा डच टोलीका लागि मेम्फिस डिपेको पासमा स्टेफानले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसको छ मिनेटपछि नै ७६ औं मिनेटमा मुलमुरले आत्मघाती गोल गर्न पुग्दा नेडरल्याण्ड्स २–१ ले अघि बढ्यो ।
त्यसपछि खेलमा थप गोल ननिस्केपछि नेडरलयाण्ड्सले २–१ ले जित सुरक्षित गर्यो ।
योसंगै नेडरल्याण्ड्सले सेमिफाइनलमा साविक उपविजेता इंग्ल्याण्डसंग खेल्ने भएको छ ।