
भक्तपुर । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत मंगलवार भएको खेलहरुमा फ्रेन्ड्स क्लबले जावलाखेल युवा क्लबमाथि जित हात पार्दा चर्च ब्वाइज युनाइटेड र संकटा क्लबले गोलरहित बराबरी खेलेका छन् ।
मंगलवार दिउँसो भएको लिगअन्तर्गत दुई खेलमा फ्रेन्ड्सले जावलाखेलमाथि २–१ को जित निकाल्दा चर्च ब्वाइज र संकटाले गोलरहित बराबरी खेलेका हुन् ।
दशरथ रंगशालामा भएको खेलमा १९ औं मिनेटमा राफिक एमिनुले गोल गर्दै फ्रेन्ड्सलाई १–० ले अघि बढाएका थिए ।
त्यसपछि ४० औं मिनेटमा कप्तान समेत रहेका प्रकाश बुढाथोकीले गोल गर्दा फ्रेन्ड्स पहिलो हाफ २–० को आरामदायी अवस्थामा पुगेको थियो ।
प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफको फोडे फोफानाले ८७ औं मिनेटमा एक गोल फर्काउँदा खेल २–१ को अवस्थामा पुगेको थियो ।
खेलको अन्तिम समयतिर जावलाखेल १० खेलाडीमा समेतिएको थियो । कप्तान सिमान्त थापाले दोहोरो पहेलो कार्ड खाँदै मैदान छोडेपछि जावलाखेल १० खेलाडीमा समेटिएको थियो ।
फ्रेन्ड्सका राफिकलाई कुहिनाले हान्दै हानेपछि रेफ्रीले उनलाई दोहोरो पहिलो कार्ड सहित रातो कार्ड देखाएर मैदान बाहिर पठाएको थियो ।
महत्वपूर्ण जितसँगै फ्रेन्ड्सले ४ खेलमा ४ अंक जोडेको छ । पराजित जावलाखेलको ४ खेलमा ७ अंक छ ।
यता, एन्फा कम्प्लेस सातदोबाटोमा भएको अर्को खेलमा लिग लिडर चर्च ब्वाइज संकटासंग गोलरहित बराबरीमा रोकेको छ ।
बराबरीसंगै चर्च ब्वाइजको ४ खेलमा १० अंक भएको छ । त्यस्तै, संकटाको ४ खेलमा ५ अंक भएको छ ।