
भक्तपुर । पोखरामा जारी २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकप २०८० अन्तर्गत सेमिफाइनल खेलमा चिरपरिचित छिमेकी प्रतिद्वन्दी जावलाखेल युथ क्लबमाथि जित निकाल्दै थ्रीस्टार क्लब फाइनलमा प्रवेश गरेको छ ।
बुधवार दिउँसो भएको ललितपुर डर्बी खेलमा जावलाखेल युथ क्लबमाथि १–० को जित निकाल्दै थ्रीस्टार मोफसलको प्रतिष्ठित प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
पोखरास्थित पोखरा रंगशालामा भएको खेलमा ५ पटकका विजेता थ्रीस्टारलाई जिताउन दिपेश घलेले एकमात्र निर्णायक गोल गरे ।
परिर्वतित खेलाडीका रुपमा मैदान छिरेका दिपेशले दोस्रो हाफको ७८ औं मिनेटमा निर्णायक गोल गरे ।
थ्रीस्टारले यसअघि वि.सं. २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा आहा रारा पोखरा गोल्डकप जितेको थियो ।