
एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले सिजनको अन्त्यसंगै क्लब छाड्ने भएका छन् ।
सनिवार राति ला लिगाअन्तर्गत खेलमा बार्सिलोना भिल्ला रियलसंग ५–३ ले पराजित भएसंगै ४३ वर्षिय जाभीले क्लब छाड्ने जानकारी दिएका हुन् ।
जारी सिजन जाभी नेतृत्वको बार्सिलोनाले उतार चढावपूर्ण प्रदर्शन देखाइरहेको छ ।
केहि दिन अघि मात्रै स्पेनिस प्रतिष्ठित प्रतियोगिता कोपा डेल रेको क्वाटरफाइनलमा एट्लेटिक क्लबसंग ४–२ ले पराजित हुँदै बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको थियो ।
त्यसअघि यसै जनवरी महिनाको १५ तारिखमा भएको सुपरकोपा दि इस्पानाको फाइनल खेलमा चिरिपरिचित प्रतिद्वन्दी रियल मड्रिडसंग ४–१ ले पराजित भएको थियो ।
ला लिगामा २१ खेल खेलिसक्दा बार्सिलोनाले ४४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ ।
यो भनेको कट्टर प्रतिद्वन्दी रियल मड्रिडको भन्दा १० अंकले पछि हो ।
सन् २०२१ को नवेम्बर ६ तारिखमा तत्कालिन प्रशिक्षक रोनाल्ड कोम्यानलाई प्रतिस्थापन्न गर्दै जाभीले मुख्य प्रशिक्षकका रुपमा बार्सिलोना आएका थिए ।
बार्सिलोनाका लेजेन्डरी खेलाडी समेत रहेका जाभीले प्रशिक्षकका रुपमा बार्सिलोनालाई पहिलो उपाधि सुपरकोपा दि इस्पाना दिलाएका थिए ।
जाभीले १५ जनवरी २०२३ मा रियल मड्रिडलाई फाइनलमा ३–१ ले पराजित गर्दै सुपरकोपाको उपाधि जितेका थिए ।
त्यसपछि उनले सन् २०२२–२३ सिजनको ला लिगा उपाधि बार्सिलोनालाई जिताए ।
उक्त उपाधि क्याटलान क्लबका लागि सन् २०१८–१९ सिजनपछिको पहिलो उपाधि थियो ।