एजेन्सी । युरोपेली फुटबलको शीर्ष प्रतियोगिता युरो कपअन्तर्गत खेलमा आयोजक राष्ट्र जर्मनीले स्विजरल्याण्डसंग बराबरी खेलेको छ ।
आईतवार राति भएको खेलमा बलियो टोली जर्मनीले स्विजरल्याण्डसंग बराबरी खेलेको हो ।
जर्मनीको फ्यांकफ्रुटस्थित फ्यांकफ्रुट एरिना रंगशालामा भएको खेलमा हार उन्मुख घरेलु टोलीले खेलको अन्तिम समयमा गोल फर्काउँदै खेललाई बराबरीमा सक्याए ।
खेल सुरु भएको १७ औं मिनेटमा रोर्बट एनरिचले जर्मनीका लागि गोल गरेतापनि भिएआरले मान्यता दिएन ।
त्यसपछि २८ औं मिनेटमा रेमो फ्रेउलेरको असिस्टमा डान एनडोएले गोल गर्दै स्विजरल्याण्डलाई १–० ले अघि बढाए ।
यता, घरेलु टोलीलाई खेलमा फर्किन अन्तिम समयसम्म कुर्न पर्यो ।
इन्जुरी समयको दोस्रो मिनेटमा डेभिड रौमको पासमा निकोलास फुलक्रुगले गोल फर्काउँदा खेल १–१ को बराबरीमा सकियो ।
बराबरीसंगै जर्मनीले समूह चरणमा ३ खेलबाट २ मा जित र १ मा बराबरीको नतिजासहित ७ अंक जोडेर समूह ‘ए’ को विजेता बन्यो ।
यता, स्विजरल्याण्डले भने ३ खेलमध्ये १ मा जित र २ मा बराबरीको नतिजासहिन ५ अंक जोडेर समूहमा उपविजेता बन्यो ।
आईतवार राति नै भएको सोहि समूहको अर्को खेलमा स्कटल्याण्ड हंगेरीसंग १–० ले पराजित भएको छ ।
स्टुटगार्ड रंगशालामा भएको खेलमा इन्जुरी समयको १० औं मिनेटमा रोनाल्ड सललाईको पासमा केभिन क्सोभोथले गोल गदै हंगेरीलाई सनसनी रुपमा १–० ले जिताए ।
महत्वपूर्ण जितसंगै हंगेरीको बेस्ट अफ थ्रीमा पर्दै अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना कायमै छ ।
हंगेरीको ३ खेलमा ३ अंक छ ।
हारसंगै स्कटल्याण्ड भने ३ खेलबाट १ अंकसहित समूह ‘ए’ को पुच्छारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।