एजेन्सी । जर्मनीमा जारी युरो कपको अन्तिम १६ को खेलमा स्पेनले जर्जियालाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।
आईतवार राति भएको खेलमा उपाधि दाबेदार टोली स्पेनले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी जर्जियामाथि ४–१ को फराकिलो जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।
कोलोग्नेस्थित कोलोग्ने रंगशालामा भएको खेलमा स्पेनलाई जित दिलाउन रोड्री, फाबियान रुइज, निको विलियम्स र ड्यानी ओल्मोले गोल गरे ।
जर्जियाका लागि भने स्पेनकै रोबिन ले नोर्मन्डले आत्मघाती उपहार दिए ।
खेल सुरु भएको १८ औं मिनेटमा रोबिनको आत्मघाती गोलमार्फत् जर्जियाले सुरुवाती अग्रता लियो ।
तर, ३९ औं मिनेटमा निको विलियम्सको पासमा रोड्रीले स्पेनका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
यता, दोस्रो हाफको ५१ औं मिनेटमा लामिन यामलको पासमा रुइजले गोल गर्दा स्पेन २–१ ले अघि बढ्यो ।
त्यस्तै, ७५ औं मिनेटमा रुइजको असिस्टमा विलियम्सले गोल गर्दा स्पेन ३–१ को सहज अग्रतामा अघि बढ्यो ।
खेलको ८३ औं मिनेटमा मिकेल ओयार्जाबलको पासमा ओल्मोले गोल थप्दा स्पेन ४–१ ले विजयी भयो ।
अब स्पेनले क्वाटरफाइनलमा आयोजक राष्ट्र जर्मनीसंग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।