भक्तपुर । १४ वर्षमूनीको २० औं जयकर स्मृति एटीएफ यू–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट १ को ब्वाइज सिंगल्समा नेपालका बोरिस अधिकारी र आयुषमान घलेले विजयी सुरुवात गरेका छन् ।
प्रतियोगिताअन्तर्गत पहिलो दिन ब्वाइज सिंगल्समा सोमवार नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गरेकोमा बोरिस र आयुषमानले जित निकालेका हुन् ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा बोरिसले भारतका पुगाज्सेभेललाई समान ६–० को सोझो सेटमा पराजित गर्यो । यता, आयुषमानले पनि भारतकै पार्थ सानेलाई ६–२ र ६–२ को सोझो सेटमा पराजित गरे ।
प्रतियोगिताको ब्वाइज सिंगल्सकै अन्य खेलमा नेपालका वृजेश अर्याललाई हङकङका कि छियोङ मोरिस हाङले ६–२ र ६–३ ले पराजित गर्दा भारतका आदित्य सिंहले नेपालका आसभ सम्राट हाडालाई ६–३ र ६–१ त्यस्तै, भारतका भिभान मिर्धाले नेपालका निशाद जोशीलाई ६–० र ६–०, भारतका किशोर श्रीरामले नेपालका अद्रिन थापालाई ६–१ र ६–० ले हरायो ।
यस्तै, यमनका हमुद इयादले पनि नेपालका युभेनमान श्रेष्ठलाई ६–० र ६–१ ले पराजित गरे ।
एसियाली टेनिस महासंघको स्वीकृति तथा नेपाल टेनिस संघको सहयोगमा भइरहेको प्रतियोगिता मन जय टेनिस एकेडेमीले आयोजना गरेको हो ।