भक्तपुर । एसियाली क्लब फुटबलको तेस्रो श्रेणीको प्रतियोगिता एएफसी च्यालेन्ज लिगको प्लेअफ खेलमा नेपाली शीर्ष लिग विजेता चर्च ब्वाइज युनाइटेड भुटानको पारो फुटबल क्लबसंग पराजित भएको छ ।
मंगलवार साँझ भएको खेलमा सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड भुटानको शीर्ष लिग विजेता पारो फुटबल क्लबसंग २–१ ले पराजित भएको हो ।
पराजयसंगै चर्च ब्वाइज प्लेअफबाटै बाहिरिएको छ ।
भुटानी क्लब भने च्यालेन्ज लिगको समूह चरणका लागि छानिएको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भ्रमणकारी टोलीलाई जित दिलाउन किंगमा र ओपोकुले एक–एक गोल गरे ।
पराजित घरेलु टोलीका लागि भने लाकेन लिम्बुले गोल गरे ।
पहिलो हाफको ३८ औं मिनेटमा लाकेनले गोल गर्दै घरेलु टोलीलाई १–० ले अघि बढाए ।
तर, त्यसको एक मिनेटपछि नै किंगमाले भ्रमणकारी टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
यता, दोस्रो हाफको ६६ औं मिनेटमा पारोका ओपोकुले गोल थप्दा खेल २–१ को अवस्थामा पुग्यो ।
त्यसपछि खेलमा थप गोल ननिस्केपछि खेल पारोले २–१ ले जित्यो ।