
एजेन्सी । युरोपेली क्लब फुटबलको शीर्ष प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल ड्र सार्वजनिक भएको छ ।
शुक्रवार स्विजरल्याण्डको नियोनस्थित युनियन अफ युरोपियन फुटबल एशोसियसन (युईएफए) को हेडक्वाटरमा युरोपेली क्लब फुटबलको सर्वाधिक लोकप्रिय प्रतियोगिताको क्वाटरफाइनल ड्र सार्वजनिक भएको हो ।
सार्वजनिक ड्र अनुसार साविक विजेता म्यानचेस्टर सिटी र स्पेनिस महारथी रियल मड्रिड पुनः एकपटक प्रतिस्पर्धामा उत्रिने भएको छ ।
गएको सिजन पनि यी दुई बलिया टोली सेमिफाइनलमा आमनेसामने भएका थिए ।
रियल मड्रिड च्याम्पियन्स लिगकै सर्वाधिक सफल क्लब हो । मड्रिडले अहिलेसम्म सर्वाधिक १४ पटक च्याम्पियन्स लिगको उपाधि उचालिसकेको छ ।
त्यस्तै, फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पिएसजी) ले स्पेनिस क्लब बार्सिलोनासंग प्रतिस्पर्धा गर्ने तय हुँदा जर्मन महारथी बायर्न म्युनिखले इंग्लिस क्लब आर्सनलसंग खेल्ने भएका छन् ।
यता, स्पेनिस क्लब एट्लेटिको डि मड्रिडले भने जर्मन क्लब बुरुसिया डर्टमण्डसंग खेल्ने पक्का भएको छ ।
क्वाटरफाइनलअन्तर्गत पहिलो लेग खेल अप्रिल १० तारिखमा हुनेछ भने दोस्रो लेग खेल अप्रिल १७ तारिखमा हुनेछ ।