एजेन्सी । युरोपेली क्लब फुटबलको सर्वाधिक लोकप्रिय प्रतियोगिता युईएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले स्लोभान ब्राटिस्लाभामाथि फराकिलो जित निकालेको छ ।
मंगलवार राति भएको खेलमा इंग्लिस महारथी क्लब म्यानचेस्टर सिटीले तुलनात्मक रुपमा कमजोर स्लोभाकियन प्रतिद्वन्दी स्लोभान ब्राटिस्लाभामाथि ४–० को फराकिलो जित निकालेको हो ।
स्लोभाकियन टोलीको घरेलु मैदान स्टाडिअन टेहेल्ने पोल रंगशालामा भएको खेलमा प्रिमियर लिग क्लबलाई जिताउन इर्लिङ हालान्ड, फिल फोडेन, इल्के गुन्डुवान र जेम्स जोन म्याकएटले गोल गरे ।
खेल सुरु भएको आठौं मिनेटमा गुन्डुवानले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि १५ औं मिनेटमा जेरेमी गोकुको पासमा फोडेनले गोल गर्दै सिटीलाई २–० ले अघि बढाए ।
यता, दोस्रो हाफको ५८ औं मिनेटमा रिको लेविसको पासमा हालान्डले गोल थप्दा इंग्लिस क्लब ३–० ले अघि बढ्यो ।
त्यस्तै, ७४ औं मिनेटमा फोडेनको पासमा म्याकएटले गोल गर्दा सिटी ४–० ले विजयी भयो ।
फराकिलो जितसंगै बलियो सिटीले च्याम्पियन्स लिगमा २ खेलबाट ४ अंक जोडेर तालिकाको चौथौं स्थानमा उक्लिएको छ ।
ब्राटिस्लाभाले भने समान २ खेल खेलिसक्दा दुबैमा हार बेहोर्दै अंकको खाता खोल्न सकेको छैन ।