एजेन्सी । स्पेनिस महारथी रियल मड्रिडले युरोपेली फुटबलको शीर्ष प्रतियोगिता युईएफए च्याम्पियन्स लिगअन्तर्गत खेलमा भिएफबी स्टुगार्टमाथि जित निकालेको छ ।
मंगलवार राति भएको युरोपेली सिजनको पहिलो लिग खेलमा साविक विजेता समेत रहेको रियल मड्रिडले जर्मन क्लब भिएफबी स्टुगार्टमाथि ३–१ को जित निकालेको हो ।
मड्रिडको घरेलु मैदान सेन्टियागो बेर्नाबाउ रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन केलियन एम्बाप्पे, एन्टोनियो रुड्रिगर र इन्डरिकले गोल गरे ।
पराजित टोलीका लागि डेनिज उन्डबले एक गोल फर्काए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको सुरुवाततिर ४६ औं मिनेटमा रोड्रिगोको पासमा एम्बाप्पेले गोल गर्दै मड्रिडलाई १–० ले अघि बढाए ।
तर, ६८ औं मिनेटमा जेमी लेविलिङको पासमा उन्डबले जर्मन टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि खेलको ८३ औं मिनेटमा लुका मोड्रिचको पासमा रुड्रिगरले गोल गर्दा साविक विजेता टोली २–१ ले अघि बढ्यो ।
यता, इन्जुरी समयको पाँचौं मिनेटमा ड्यानी कार्भाजलको पासमा इन्डरिकले गोल थप्दा मड्रिड ३–१ ले विजयी भयो ।
सहज जितसंगै मड्रिडले नयाँ ढाँचाको च्याम्पियन्स लिगको लिग तालिकामा तीन अंक जोडेको छ ।