एजेन्सी । इंग्लिस महारथी म्यानचेस्टर सिटीले युईएफए च्याम्पियन्स लिगमा फराकिलो जित निकालेको छ ।
बुधवार राति भएको खेलमा बलियो म्यानचेस्टर सिटीले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी स्पार्टा प्रागमाथि ५–० को फराकिलो जित निकालेको हो ।
सिटीको घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन इर्लिङ हालान्डले दुई गोल गर्दा फिल फोडेन, जोन स्टोन्स र म्याथ्युस नुनेजले एक–एक गोल गरे ।
खेल सुरु भएको तेस्रो मिनेटमै म्यानुयल अकान्जीको पासमा फोडेनले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि दोस्रो हाफको ५८ औं मिनेटमा साभिन्होको पासमा हालान्डले गोल गर्दा इंग्लिस टोली २–० ले अघि बढ्यो ।
त्यस्तै, ६४ औं मिनेटमा नुनेजको पासमा स्टोन्सले गोल थप्दा सिटी ३–० ले अघि बढ्यो ।
त्यसको चार मिनेटपछि नै नुनेजकै पासमा हालान्डले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा सिटी ४–० ले अघि बढ्यो ।
यता, खेलको अन्त्यतिर ८८ औं मिनेटमा नुनेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई ५–० को जित दिलाए ।
फराकिलो जितसंगै सिटीले ३ खेलबाट ७ अंक जोडेर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
पराजित चेक रिपब्लिक क्लबको भने समान ३ खेलमा ४ अंकसहित तालिकाको २१ औं स्थानमा झरेको छ ।
च्याम्पियन्स लिगअन्तर्गत गयराति नै भएको अर्को खेलमा इंग्लिस क्लब लिभरपूलले जर्मन क्लब आरबी लाइपिजिङमाथि १–० को जित हासिल गर्यो ।
जर्मन क्लबको घरेलु मैदान रेडबुल एरिना रंगशालामा भएको खेलमा भ्रमणकारी टोली लिभरपूललाई जिताउन डार्विन नुनेजले निर्णायक गोल गरे ।
नुनेजले खेलको २७ औं मिनेटमा मोहम्मद सलाहको पासमा गोल गरे ।
जितसंगै लिभरपूलले ३ खेलबाट शतप्रतिशत जितसहित ९ अंक जोडेर लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
पराजित जर्मन क्लबको भने अंकको खाता नै खोल्न सकेको छैन ।