एजेन्सी । जर्मन महारथी बायर्न म्युनिखले युईएफए च्याम्पियन्स लिगअन्तर्गत सिजनको पहिलो खेलमा डाइनामो जागरेबमाथि गोल वर्षा गरेको छ ।
मंगलवार राति भएको खेलमा बलियो बायर्न म्युनिखले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी डाइनामो जागरेबमाथि ९–२ को फराकिलो जित हासिल गरेको हो ।
म्युनिखको घरेलु मैदान एलियान्ज एरिना रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन ह्यारी केनले ह्याट्रिकसहित चार गोल गर्दा माइकल ओलीसेले दुई, राफयल गुरेरियो, लेरोय साने र लियोन गोरेट्ज्काले एक–एक गोल गरे ।
पराजित टोलीका लागि भने ब्रुनो पेटकोभिक र ताकुया ओगिवाराले एक–एक गोल फर्काए ।
पहिलो हाफको १९ औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि ३३ औं मिनेटमा जमाल मुसियालाको पासमा गुरेरियोले गोल थप्दा म्युनिख २–० ले अघि बढ्यो ।
यता, ३८ औं मिनेटमा जोसुआ किम्मिचको पासमा ओलिसेले गोल थप्दा जर्मन महारथी टोली ३–० ले अघि बढ्यो ।
तर, दोस्रो हाफको ४८ औं मिनेटमा मार्को पिजाकको पासमा पेटकोभिकले भ्रमणकारी टोलीका लागि गोल फर्काउँदा खेल ३–१ को अवस्थामा आयो ।
त्यसको दुई मिनेटपछि नै क्रोएसियन टोलीले जोसिप मिसिकको पासमा ओगिवाराले गोल फर्काउँदा खेल ३–२ को अवस्थामा आयो ।
यता, ५७ औं मिनेटमा केनले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा म्युनिख ४–२ ले अघि बढ्यो ।
त्यस्तै, ६१ औं मिनेटमा जमाल मुसियालाको पासमा ओलिसेले गोल थप्दा म्युनिख ५–२ ले अघि बढ्यो ।
खेलको ७३ औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै व्यक्तिगत रुपमा ह्याट्रि पूरा गर्दा जर्मन महारथी टोली ६–२ को फराकिलो गोलअन्तरले अघि लम्कियो ।
७८ औं मिनेटमा पुनः केनले पेनाल्टीमा गोल थप्दा म्युनिख ७–२ ले अघि बढ्यो ।
यता, ८५ औं मिनेटमा थोमस मुलरको पासमा सानेले गोल गर्दा घरेलु टोली ८–२ ले अघि बढ्यो ।
खेलको इन्जुरी समयको दोस्रो मिनेटमा किम्मिचको पासमा गोरेट्ज्काले गोल गर्दा म्युनिख ९–२ ले विजयी भयो ।
फराकिलो जितसंगै म्युनिखले युरोपेली क्लब फुटबलको शीर्ष प्रतियोगिताको लिग तालिकामा महत्वपूर्ण तीन अंक जोडेको छ ।