एजेन्सी । फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पिएसजी) युरोपेली क्लब फुटबलको शीर्ष प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्सिलोनासंग पराजित भएको छ ।
बुधवार राति भएको क्वाटरफाइनलअन्तर्गत पहिलो लेग खेलमा पिएसजी स्पेनिस महारथी बार्सिलोनासंग ३–२ ले पराजित भएको हो ।
पेरिसस्थित पेरिस देस प्रिन्सेस रंगशालामा भएको खेलमा भ्रमणकारी टोली बार्सिलोनालाई जिताउन राफिन्हाले दुई गोल गर्दा एन्ड्रेस क्रिस्टियन्सनले अर्को एक गोल थपे ।
यता, घरेलु टोलीका लागि ओसमान डेम्बेले र भिटिन्हाले एक–एक गोल गरे ।
रोमाञ्चक खेलको ३७ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए ।
तर, दोस्रो हाफको ४८ औं मिनेटमा घरेलु टोलीका लागि डेम्बेलेले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
लगत्तै तीन मिनेटपछि फाबियान रुइजको पासमा भिटिन्हाले गोल गर्दा पिएसजी २–१ ले अघि बढ्यो ।
यता, ६२ औं मिनेटमा पेड्रीको पासमा राफिन्हाले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा खेल २–२ को बराबरीमा आयो ।
त्यस्तै, ७७ औं मिनेटमा इल्के गुन्डवानको पासमा क्रिस्टियन्सनले गोल गर्दा बार्सिलोना ३–२ ले विजयी भयो ।
अवे खेलमा महत्वपूर्ण जितसंगै बार्सिलोनाले क्वाटरफाइनलमा एक गोलको अग्रता लिएको छ ।