एजेन्सी । इंग्लिस क्लब आर्सनलले युईएफए च्याम्पियन्स लिगअन्तर्गत खेलमा साख्टर डोनेट्स्कमाथि साँघुरो जित निकालेको छ ।
मंगलवार राति भएको खेलमा प्रिमियर लिग क्लब आर्सनलले युक्रेनी क्लब साख्टर डोनेट्स्कमाथि १–० को साँघुरो जित निकालेको हो ।
आर्सनलको घरेलु मैदान इमिरेट्स रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा भ्रमणकारी टोली डोनेट्स्कका खेलाडी डिमेट्रो रिजन्याकको आत्मघाती गोल निर्णायक बन्यो ।
पहिलो हाफको २९ औं मिनेटमा रिजन्याकले आत्मघाती गोल गर्दा आर्सनल १–० ले विजयी भयो ।
जितसंगै आर्सनलले लिग तालिकामा ३ खेलबाट ७ अंक जोडेर चौथौं स्थानमा उक्लिएको छ ।
पराजित युक्रेनी टोलीको समान ३ खेलमा १ अंकसहित तालिकाको २९ औं स्थानमा रहेको छ ।
यता, गयराति नै भएको च्याम्पियन्स लिगको अर्को खेलमा एस्टन भिल्लाले बोलोग्नामाथि २–० को जित हासिल गरेको छ ।
इंग्लिस क्लब एस्टन भिल्लाको घरेलु मैदान भिल्ला पार्क रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन जोन म्याकगिन र जोन डुरानले गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको ५५ औं मिनेटमा म्याकगिनले गोल गर्दै घरेलु टोलीलाई १–० ले अघि बढायो ।
त्यसपछि ६४ औं मिनेटमा मोर्गान रोजर्सको पासमा डुरानले गोल थप्दा भिल्ला २–० ले विजयी भयो ।
सहज जितसंगै भिल्लाले ३ खेलबाट शतप्रतिशत जितलाई निरन्तरता दिँदै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
पराजित इटालियन क्लबको भने समान ३ खेलमा १ अंकसहित तालिकाको २८ औं स्थानमा झरेको छ ।