एजेन्सी । युरोपेली क्लब फुटबलको शीर्ष प्रतियोगिता युईएफए च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेग खेलमा बायर्न म्युनिख र रियल मड्रिडले बराबरी खेलेको छ ।
मंगलवार राति भएको सेमिफाइनलअन्तर्गत पहिलो लेग खेलमा जर्मन महारथी बायर्न म्युनिख र स्पेनिस महारथी रियल मड्रिडले २–२ को बराबरी खेलेको हो ।
म्युनिखको घरेलु मैदान एलियान्ज एरिना रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि लेरोय साने र ह्यारी केनले गोल गरे ।
भ्रमणकारी टोलीका लागि भिनिसियस जुनियरले दुबै गोल गरे ।
पहिलो हाफको २४ औं मिनेटमा टोनी क्रुसको पासमा भिनिसियस जुनियरले गोल गर्दै मड्रिडलाई सुरुवाती अग्रता दिलाए ।
तर, दोस्रो हाफको ५३ औं मिनेटमा कोनराड लैमेरको पासमा सानेले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि ५७ औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दा म्युनिख २–१ ले अघि बढ्यो ।
तर, ८३ औं मिनेटमा मड्रिडका लागि भिनिसियसले पेनाल्टीमा गोल फर्काउँदा खेल २–२ को बराबरीमा सकियो ।
अब मड्रिडको घरेलु मैदान स्यान्टियागो बेर्नाबाउमा हुने दोस्रो लेग खेलबाट फाइनलमा प्रवेश गरेको टोलीको टुंगो लगाउनेछ ।
प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेग खेल बुधवार राति बुरुसिया डर्टमण्ड र पेरिस सेन्ट जर्मनबीच खेल हुनेछ ।