
एजेन्सी । युरोपेली फुटबलको सर्वोच्च प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत पहिलो लेग सम्पन्न भएको छ ।
बुधवार राति पहिलो लेगअन्तर्गतका दुई खेल सकिएसंगै जारी सिजनको च्याम्पियन्स लिगको दोस्रो चरणअन्तर्गत अन्तिम १६ को पहिलो लेग सम्पन्न भएको हो ।
बुधवार राति इन्टर मिलानले आफ्नै घरेलु मैदान गिउसेपे मियाजनमा एफसी पोर्टोमाथि १–० को जित निकाल्दा बलियो म्यानचेस्टर सिटी भने आरबी लाइपिजिङसंग १–१ को बराबरीमा रोकिएको छ ।
इन्टरको जितमा रोमेलु लुकाकुले खेलको ८६ औं मिनेटमा एक मात्र निर्णायक गोल गरेका थिए ।
यता, रेडबुल एरिनामा भएको खेलमा खेलको २७ औं मिनेटमा रियाद महारेजको गोलमार्फत इंग्लिस महारथीले सुरुवाती अग्रता लिएको थियो ।
तर ७० औं मिनेटमा घरेलु टोलीका लागि जस्को ग्भार्डिओलले गोल फर्काउदै खेल १–१ को बराबरीमा ल्याएका थिए ।
च्याम्यिन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेग खेलमा प्रिमियर लिग क्लबहरुले जित निकाल्न सकेनन् । सिटी लापिजिङसंग बराबरीका रोकिँदा लिभरपूल, टोटनहम र चेल्सी पराजित रहे ।
अन्तिम १६ मा स्पेनिस ला लिगाबाट साविक विजेता समेत रहेको रियल मड्रिड रहेको छ । मड्रिड भने क्वाटरफाइनल उन्मूख छ ।
इटालियन सिरी एबाट नापोली र इन्टर मिलानले जित हात पार्दै अन्तिम ८ पुग्ने आशा बलियो बनाउँदा बुडेसलिगा क्लब ब्रायन म्युनिख, बुरुसिया डर्टमण्डले पनि अघिल्लो चरण प्रवेशको सम्भावना कायम गरेका छन् ।
पहिलो लेग खेलमा बलियो पिएसी भने पराजित रहेको थियो । युरोपेली प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गर्ने टोली दोस्रो लेगले टुंगो लाग्नेछ ।
प्रतियोगिताअन्तर्गत दोस्रो लेग खेल आगामाी मार्च ८,९,१५ र १६ तारिखमा हुनेछ ।