एजेन्सी । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेग खेलमा जर्मन क्लब आयन्ट्राक्ट फ्यांकफ्रुटमाथि जित निकाल्दै नापोलीले क्वाटरफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।
मंगलवार राति भएको खेलमा इटालियन क्लब नापोलीले फ्यांकफ्रुटमाथि २–० को जित हात पार्दै अन्तिम १६ को पहिलो खेलमा अग्रता लिएको हो ।
जर्मन क्लबको घरेलु मैदानमा भएको खेलमा नापोलीका लागि भिक्टर ओसमान र जियोभानी दि लोरेन्जोले गोल गरे ।
खेलको ४० औं मिनेटमा ओसमानले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफ १–० ले अघि रहेको भ्रमणकारी टोलीले दोस्रो हाफको ६५ औं मिनेटमा लोरेन्जोको गोलमार्फत खेलमा २–० को अग्रता लिएको हो ।
त्यसअघि ५८ औं मिनेटमा रानदाल कोलो मुनाइले रातो कार्ड पाउँदा घरेलु टोली १० खेलाडीमा समेतिएको थियो ।
अब मार्च १६ तारिखमा यी दुई टोलीबीच नापोलीको मैदानमा दोस्रो लेग हुनेछ ।