एजेन्सी । युरोपेली क्लब फुटबलको सर्वाधिक लोकप्रिय प्रतियोगिता युईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह चरणका खेलहरु सम्पन्न भएका छन् ।

बुधवार राति अन्तिम चार समूहका खेलहरु सकिएसंगै सन् २०२३–२४ को च्याम्पियन्स लिगअन्तर्गत समूह चरणका खेलहरु सकिएका हुन् ।

योसंगै ८ समूहका ३२ टोलीबाट १६ टोली अघिल्लो चरण प्रवेश गर्दा ८ टोली युरोपेली फुटबलको दोस्रो श्रेणीको प्रतियोगिता युईएफए युरोपा लिगमा झरेका छन् ।

त्यस्तै, प्रत्येक समूहको अन्तिममा रहेका ८ टोली युरोपेली प्रतियोगिताबाट बाहिरिएका छन् ।

समूह ‘ए’
यस समूहमा जर्मन महारथी बायर्न म्युनिख, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, डेनिस क्लब एफसी कोपनहेगन र टर्किस क्लब गालातासारे रहेका थिए ।

म्युनिख र युनाइटेड तुलनात्मक रुपमा बलियो टोली थिए । तर, फुटबलमा जसले जित्छ ऊ अघि बढ्छ । समूह चरणका खेलहरु सकिँदासम्म जर्मन महारथी म्युनिखले ६ खेलबाट ५ मा जित र १ खेल बराबरी खेल्दै १६ अंक जोड्दै समूह विजेताका रुपमा अघिल्लो चरण प्रवेश गर्यो ।

त्यस्तै, डेनिस क्लब कोपनहेगनले ८ अंक जोड्दै दोस्रो स्थानमा रहेर अघिल्लो चरण प्रवेश गर्दा गालातासारेले ५ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेर युरोपा खेल्ने निश्चित भयो ।

तर, समूहमा बलियो मानिएको म्यानचेस्टर युनाइटेड भने बिर्सन लायक प्रदर्शन गर्दै ६ खेलबाट ४ खेलमा हार, १ मा जित र १ मा बराबरीको नतिजा निकाल्दै ४ अंकका साथ तालिकाको पुच्छारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह ‘बी’
यस समूहमा इंग्लिस क्लब आर्सनल, स्पेनिस क्लब सेभिल्ला, फ्रान्सेली क्लब लेन्स र डच क्लब पिएसभी रहेका थिए ।

यस समूहबाट आर्सनल विजेता र पिएसभी उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गर्दा लेन्सले समूहमा तेस्रो रहँदै युरोपा लिगमा झरेको छ ।

यस समूहबाट स्पेनिस क्लब सेभिल्ला भने पुच्छारमा रहँदै युरोपेली प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह ‘सी’
यस समूहमा युरोपेली फुटबलको सर्वाधिक सफल क्लब रियल मड्रिड, इटालियन क्लब नापोली, जर्मन क्लब एफसी युनियन बर्लिन र पोर्चिुगिच क्लब ब्रागा रहेका थिए ।

स्पेनिस महारथी मड्रिडले समूहमा शतप्रतिशत जित रच्दै समूह विजेताका रुपमा अघिल्लो चरण प्रवेश गर्दा नापोली उपविजेताका रुपमा प्रतियोगिताको अन्तिम १६ मा स्थान बनाएका छन् ।

समूह तालिकामा तेस्रो स्थानमा रहेको ब्रागा युरोपामा झर्दा युनियन बर्लिन भने प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह ‘डी’
यस समूह इटालियन क्लब इन्टर मिलान, स्पेनिस क्लब रियल सोसिडाड, अष्ट्रियन क्लब आरबी साल्जबर्ग र पोर्चुगिच क्लब बेन्फिका रहेका थिए ।

यस समूहबाट रियल सोसिडाड समूह विजेता र इन्टर मिलान उपविजेताका रुपमा अघिल्लो चरणमा प्रवेश गरे ।

यी दुई टोलीको समान १२ अंक रहे तापनि गोलअन्तरका आधारमा सोसिडाड विजेता र इन्टर उपविजेता बनेका हुन् ।

यता, बेन्फिका समूहमा तेस्रोमा रहँदै युरोपामा पुग्दा साल्जबर्ग भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

समूह ‘इ’
यो समूहमा स्पेनिस क्लब एट्लेटिको डि मड्रिड, इटालियन क्लब लाजियो, स्कटिस क्लब सेल्टिक र डच क्लब फेयनोर्ड रहेका थिए ।

समूहबाट पुर्वअनुमान अनुरुप एट्लेटिको मड्रिड विजेता र लाजियो उपविजेताका रुपमा अघिल्लो चरण प्रवेश गर्दा फेयनोर्डले युरोपा लिग खेल्ने भएको छ ।

सेल्टिक भने पुच्छारमा रहँदै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

समूह ‘एफ’
यस समूहमा फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पिएसजी), जर्मन क्लब बुरुसिया डर्टमण्ड, इटालियन क्लब एसी मिलान र इंग्लिस क्लब न्युक्यासल युनाइटेड रहेका थिए ।

यस समूहलाई प्रतियोगिताकै ग्रुप अफ डेथका रुपमा मानिएको थियो ।

र सोचे मुताबिक यस समूहका खेलहरु रोमाञ्चक पनि रह्यो ।

अन्तिम समयसम्म पनि रोमाञ्चक बनेको यस समूहबाट डर्टमण्डले ६ खेलबाट ११ अंक जोड्दै समूह विजेता बने ।

त्यस्तै, पिएसजीले ८ अंक जोड्दै उपविजेताका रुपमा अघिल्लो चरण प्रवेश गर्दा समान ८ अंक नै रहेतापनि मिलान भने गोलअन्तरमा पछि पर्दै युरोपामा झरको छ ।

यो समूहबाट पिएसजी जस्तो बलियो टोलीलाई माथ खुवाएको न्युक्यासल भने ५ अंकमात्र जोड्दै समूहको पुच्छारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह ‘जी’
यस समूहमा साविक विजेता म्यानचेस्टर सिटी, जर्मन क्लब आरबी लाइपिजिङ, स्विज क्लब बिएससी योङ ब्वाइज र सर्बियन क्लब रेड स्टार बेलग्रेड रहेका थिए ।

इंग्लिस क्लब सिटीले यस समूहमा शतप्रतिशत जित हासिल गर्दै समूह विजेताका रुपमा अघिल्लो चरण प्रवेश गर्दा जर्मन क्लब लाइपिजिङ उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गर्यो ।

यस समूहबाट योङ ब्वाइज युरोपामा झर्दा रेड स्टार भने प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह ‘एच’
यस समूहमा स्पेनिस महारथी बार्सिलोना, पोर्चुगिच क्लब एफसी पोर्टो, युक्रेनी क्लब शाख्टर डोनेट्स्क र बेल्जियन क्लब एन्टवेर्प रहेका थिए ।

यस समूहबाट बार्सिलोना समूह विजेता र पोर्टो उपविजेताका रुपमा अघिल्लो चरण प्रवेश गरे ।

साख्टर तेस्रोमा रहँदै युरोपामा झर्दा एन्टवेर्प भने युरोपेली प्रतियोगिताबाट बाहिरिएको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.