भक्तपुर । युरोपेली फुटबलको सर्वाधिक लोकप्रिय प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल समिकरण पूरा भएको छ ।

बुधवार राति दुई खेल सम्पन्न भएसंगै सन् २०२२–२३ सिजनको अन्तिम ८ समिकरण पूरा भएको हो ।

क्वाटरफाइनलमा इटालियन सिरी एका ३, इंग्लिस प्रिमियर लिगका २, स्पेनिस ला लिगा, जर्मन बुडेसलिगा र लिगा पोर्चुगलबाट समान १–१ क्लबले स्थान बनाएका छन् ।

अन्तिम ८ मा इटालीबाट नापोली, इन्टर मिलान र एसी मिलानले स्थान बनाउँदा इंग्ल्याण्डबाट म्यानचेस्टर सिटी र चेल्सी प्रवेश गरेका छन् ।

त्यस्तै, स्पेनबाट रियल मड्रिड, जर्मनबाट ब्रायन म्युनिख र पोर्चुगलबाट बेन्फिकाले अघिल्लो चरणको स्थान पक्का गरेका छन् ।

प्रि–क्वाटरफाइनलका खेलमा साविक विजेता रियल मड्रिडले इंग्लिस क्लब लिभरपुललाई पहिलो लेग खेलमा ५–२ तथा दोस्रो लेग खेलमा १–० ले पराजित गर्दा समग्रमा ६–२ ले पराजित गरेको हो ।

त्यस्तै, जारी सिजन उच्च लयमा रहेको नापोलीले जर्मन क्लब इन्ट्राक्ट फ्यांकफ्रुटमाथि पहिलो लेगमा २–० र दोस्रो लेगमा ३–० गरी समग्रमा ५–० को फराकिलो जित हात पारेको हो ।

यता, इंग्लिस जायन्ट म्यानचेस्टर सिटीले जर्मन क्लब आरबी लाईपिजिङसंग पहिलो लेगमा १–१ को बराबरी खेले तापनि दोस्रो लेगमा एकतर्फी रुपमा ७–० को जित रच्दा समग्रमा ८–१ को फराकिलो जित निकाल्न सफल भयो ।

इटालियन चर्चित क्लब इन्टर मिलानले पहिलो लेग खेलमा पोर्चुगिच क्लब एफसी पोर्टोलाई १–० ले हराउँदा दोस्रो लेगमा भने गोलरहित बराबरीमा खेलेको थियो । तर पनि समग्रमा १–० को जितका साथ इन्टर अघिल्लो चरण प्रवेश गर्न सफल भयो ।

गएको हप्ता इंग्लिस क्लब टोटनहमले एसी मिलानलाई गोल रहित बराबरीमा रोकेको थियो । तथापि पहिलो लेग खेलमा १–० ले हार बेहोरेकाले टोटनहम समग्रमा १–० ले पराजित रह्यो । एसी मिलान प्रतियोगिताको अघिल्लो चरण प्रवेश गर्यो ।

यता, अन्तिम १६ कै हेभिवेट भिडन्तमा जर्मन महारथी ब्रायन म्युनिख र फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पिएसजी) खेलेको थियो । पहिलो लेग खेलमा १–० तथा दोस्रो लेगमा २–० को जित निकाल्दै समग्रमा ३–० को सहज जितका साथ ब्रायन प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गर्न सफल रह्यो ।

त्यस्तै, पहिलो लेग खेलमा १–० ले पराजित रहेको इंग्लिस क्लब चेल्सीले दोस्रो लेग खेलमा २–० को महत्वपूर्ण जित निकाल्दा जर्मन क्लब बुरुसिया डर्टमण्डलाई समग्रमा २–१ ले हराउँदै अघिल्लो चरणको यात्रा पक्का गर्यो ।

यता, पोर्चुगिच क्लब बेन्फिकाले भने बेल्जियम टोली क्लब बुर्गमाथि पहिलो लेगमा २–० तथा दोस्रो लेगमा ५–१ ले पराजित गर्दा समग्रमा ७–१ को फराकिलो जित दर्ता गर्दै अन्तिम ८ को यात्रा तय गर्यो ।

च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनलका खेलहरु आगामी ११ र १२ अप्रिल (पहिलो लेग) तथा अप्रिल १८ र १९ (दोस्रो लेग) तारिखमा खेलिदैछ । क्वाटरफाइनलको ड्र मार्च १७ तारिखमा हुनेछ ।

 

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.