
एजेन्सी । इंग्लिस क्लब चेल्सी युरोपेली महिला फुटबलको शीर्ष प्रतियोगिता युईएफए महिला च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधवार राति भएको क्वाटरफाइनलअन्तर्गत दोस्रो खेल खेलमा डच क्लब आयाक्ससंग १–१ को बराबरी खेल्दा समग्रमा ४–१ को जित निकाल्दै चेल्सी सेमिफाइनलमा प्रवेश गरेको हो ।
त्यसअघि क्वाटरफाइनलअन्तर्गत पहिलो लेग खेलमा आयाक्समाथि चेल्सीले ३–० को जित निकालेको थियो ।
लण्डन क्लबको घरेलु मैदान स्टामफोर्ड ब्रिज रंगशालामा भएको खेलमा पहिलो हाफको ३३ औं मिनेटमा गुरो रैटेनको पासमा मायरा रमिरेजले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाइन् ।
तर, दोस्रो हाफको ६५ औं मिनेटमा टिने होएक्सट्राको असिस्टमा चसिटी ग्रान्टले भ्रमणकारी टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि थप गोल ननिस्केपछि खेल १–१ समग्रमा चेल्सी ४–१ ले विजयी हुँदै प्रतियोगिताको अन्तिम चारमा प्रवेश गर्न सफल रह्यो ।
यता, बुधवार राति नै भएको अर्को खेलमा फ्रान्सेली क्लब ओलम्पिक लियोनेसले पोर्चुगिच क्लब बेन्फिकालाई ४–१ समग्रमा ६–२ को जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
फ्रान्सेली क्लबको घरेलु मैदान ग्रुपामा रंगशालामा भएको खेलमा पहिलो हाफको अन्त्यतिर ४३ औं मिनेटमा डेलफिन कास्कारिनोको गोलमार्फत् घरेलु टोलीले सुरुवाती अग्रता लियो ।
तर, त्यसके दुई मिनेटपछि नै भ्रमणकारी टोलीकी मारी अलिदौले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
यता, दोस्रो हाफको ५१ औं मिनेटमा डेलफिनले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा लियोनेस २–१ ले अघि बढ्यो ।
खेलको अन्त्यतिर इन्जुरी समयको पहिलो मिनेटमा काडिड्याटौ ड्यानीले गोल थप्दा घरेलु टोली ३–१ ले अघि बढ्यो ।
त्यस्तै, इन्जुरी समयको छैटौं मिनेटमा काडिड्याटौले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा फ्रान्सेली क्लब ४–१ समग्रमा ६–२ ले विजयी भयो ।
त्यसअघि क्वाटरफाइनलको पहिलो लेग खेलमा पनि लियोनेस २–१ ले विजयी भएको थियो ।